स्पेन भिजिट भिसा प्रकरणबारे मन्त्री गुरुङ- ‘आरोप निराधार, सांसदले आत्मालोचना गरिसके’

लोकपथ
1.2k
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे लगाइएको ‘भिजिट भिसामा मान्छे छोडेको’ आरोपलाई पूर्णरूपमा निराधार बताएका छन् ।

उनले सो आरोप लगाउने सांसदले नै पछिल्लो समय आत्मालोचना गरिसकेको दाबी गरेका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले प्रधानमन्त्रीसँग गएका सबै प्रतिनिधि फर्किएको स्पष्ट पारे । उनले भ्रमणसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया आचारसंहिता अनुसार भएको पनि उल्लेख गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणसम्बन्धी आचारसंहिता नै छ,’ मन्त्री गुरुङले भने, राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्री विदेश जाँदा अधिकतम २१ जना मात्र लैजान पाइने व्यवस्था छ। त्योभन्दा बाहिरको कुरा भए आचारसंहिता विपरीत हुन्छ ।’

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्मा प्रधानमन्त्रीसँगै गएका केही व्यक्ति स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन् । तर भोलिपल्टै उनले सभामै आफ्नो भनाइमा स्पष्टता ल्याउँदै आफूले ‘नफर्किएको’ नभनेको बताएकी थिइन् ।

मन्त्री गुरुङले थप स्पष्ट गर्दै भने, ‘उहाँ (सांसद गौतम) ले संसद्मै ‘मैले त्यस्तो भनेको होइन’ भनेर आत्मालोचना गर्नुभएको छ। भ्रम फैलाइएको हो, त्यो आधारहीन कुरा हो ।’

यद्यपि, सरकारका अनुसार संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन निजी प्रयोजनका लागि गएका केही व्यक्ति सरकारी प्रतिनिधिमण्डलमा नरहे पनि भिजिट भिसामा गई नफर्किएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ।

‘प्रधानमन्त्रीको टोलीमा रहेका सबै व्यक्ति फर्किएका छन्,’मन्त्री गुरुङको दाबी छ, ‘छोडेर आएको भन्ने कुरा ३२ सै आना गलत हो ।’

सरकारले विदेश भ्रमणका नाममा भिजिट भिसा दुरुपयोग हुने सम्भावनाबारे पनि संवेदनशील रहँदै आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?