काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बोलाइएको छ । बिहीबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालयमा बोलाएको हो ।
बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनको प्रारम्भिक तयारी हो । त्यसका अतिरिक्त पार्टीका अन्य जरुरी विषयहरू पनि छलफलमा पर्न सक्ने उनले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ । विधानमा प्रस्तावित ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सीमा राख्ने वा नराख्ने भन्ने विवादित विषयमा समेत सचिवालय बैठकले निर्णय गर्नेछ ।
साथै बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ । ती बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन मस्यौदा, राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनमाथि छलफल हुने तयारी छ । यद्यपि, अन्य प्रतिवेदनहरू अझै तयार नभएकाले बिहीबारको बैठक मुख्यतः उमेर सीमा र कार्यकालसम्बन्धी विषयमै केन्द्रित रहने स्रोतले जनाएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सचिवालय बैठकबाटै कुनै जिम्मेवारी दिने वा त्यो विषय पार्टीको माथिल्लो तहको बैठकमा लैजाने भन्नेबारे भने अहिलेसम्म टुंगो लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया