मुस्ताङमा जोमसोम–कोरला सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

लोकपथ
399
Shares
फाइल तस्बिर

मुस्ताङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडक खण्डअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

गए रातिको वर्षापछि कोरला राजमार्गको मानेभिर क्षेत्रमा सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खस्दा आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ मानेभिर क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । पहिरो पन्छ्याउन डोजर र आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए ।

सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ जाने तथा त्यहाँबाट झर्ने सवारीसाधनहरू कागबेनी क्षेत्रमा रोकिएका छन् । ठूला चट्टान खसेकाले सडक पूर्णरूपमा सञ्चालन गर्न समय लाग्ने जनाइएको छ । हाललाई मोटरसाइकल तथा हलुका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छ्याउने प्रयास भइरहेको छ ।

त्यसैगरी, गए रातिको अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च बनेको छ । नदी किनारका बस्तीहरूमा बाढीको सम्भावना बढेसँगै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?