इजरायलमा रहँदा श्रीमतीले अर्कैसँग विवाह गरिन्, अनि फर्केको एक सातामै गरे हत्या

लोकपथ
17.1k
Shares

काठमाडौं । आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो विवाह गरेको झोँकमा प्युठानमा एक पुरुषले पूर्वपत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेका ती पुरुषले घर फर्केको एक सातामै पूर्वपत्नीको हत्या गरेका हुन् । असार २४ गते स्वदेश फर्किएका उनले हिजो मंगलबार बिहान पूर्वपत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले ३२ वर्षीय लीलबहादुर बराललाई पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले भने, ‘प्युठानकै ऐरावती गाउँपालिका–२ कात्तिके घर भएका लीलबहादुर सोही जिल्लाको सरुमारानी गाउँपालिका–३ गोठेरी बस्दै आएकी २८ वर्षीया रुक्मिणी बराल (जो उनलाई छाडेर अर्कैसँग विवाह गरी बस्दै आएकी थिइन्) लाई लिन गएका थिए । लीलबहादुर इजरायलमै हुँदा गत वैशाखमा मात्रै रुक्मिणीले सरुमारानी गाउँपालिका–३ गोठेरीका दीपक परियारसँग भागी विवाह गरेकी थिइन् । लीलबहादुर घर फर्किएपछि उनले घरमा बोलाएका रहेछन्, घर पनि नआएको र सम्बन्ध विच्छेद गर्न खोज्दा पनि नमानेपछि हत्या गरेको लीलबहादुरले बयानमा भनेका छन् ।’

‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु । तँ घरमा आइनस् भने ससाना छोराछोरीको बिजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन् । 

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन् । रुक्मिणी र लीलबहादुरको भने १० वर्षअघि मागी विवाह भएको थियो । लीलबहादुर डेढ वर्षअघि मात्रै इजरायल गएका थिए । 

रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन् । उनी १५ दिन अघि नै मिस्त्रीको काम गर्न सोलुखुम्बु गएको खुलेको प्रहरीले जनाएको छ ।

रुक्मिणीको हत्या भएको बेला उनी जेठानी डिला परियारको घरमा थिइन् । त्यहीँ पुगेर लीलबहादुरले चक्कु प्रहार गरी रुक्मिणीको हत्या गरेका प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?