कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो, आयोजना ६ महिनाभित्र सम्पन्न गर्ने तयारी

लोकपथ
294
Shares

सुर्खेत । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । 

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ बानियाँभारमा विद्युत् लाइन विस्तारका क्रममा स्थानीय अवरोध देखिएको थियो । तर, उच्च अदालतको निर्णयपछि अवरोध हटेसँगै आयोजनाको कार्यप्रगति सहज भएको हो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले अबको ६ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनास्थित विवादसमेत समाधान भएको छ ।

आयोजनाको हालसम्म ९५ प्रतिशत काम सकिएको छ । कुल सत्तरी करोड लागतको यो आयोजना अन्तर्गत हालसम्म पाँच हजार रूख काटिएको र थप ५,५०० रूख काट्नुपर्नेछ ।

चौधरीका अनुसार हालसम्म १५६ वटा टावर फाउन्डेसनमध्ये १५० वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ६ वटा फाउन्डेसनको निर्माण कार्य भइरहेको छ। साथै, ४० किलोमिटर विद्युत् लाइनको तार तानिएको र अब १२ किलोमिटर तार तान्ने कार्य बाँकी रहेको छ ।

विद्युत् प्रसारण लाइनको विस्तारसँगै कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा स्थायित्व र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?