साउनका लागि अधिकांश बैंकले घटाए ब्याजदर, दुईले बढाए, चार वटाको स्थिर

लोकपथ
3.1k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनकै लागि ब्याजदर घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाबपछि घटाइएको हो । 

असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ४ वटाले स्थिर र २ बैंकले भने बढाएका छन् ।

यसलाई राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअन्तर्गत पनि हेरिएको छ । राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेको थियो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेको थियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुगेको बताइएको छ । 

यस्तै वर्षभरिको कुल पुँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएकाले ब्याजदर थप घट्न गएको बताइएको छ । बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।

असारको तुलनामा हिमालयन बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत र स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशतले बढाएका छन् । 

कृषि विकास बैंकले ५.४५ बाट ५.४०, एभरेस्टले ६.५५ बाट ६.२५, नेपाल बैंकले ५.४५ बाट ५.४०, लक्ष्मी सनराइजले ५.७५ बाट ५.५०, एनआईसी एसियाले ६.५५ बाट ६.२५, प्रभुले ६.१० बाट ४.२५, राष्ट्रिय वाणिज्य बैंकले ६.०० बाट ५.५०, नबिलले ५.७५ बाट ५.५०, प्राइम कमर्सियलले ६.२५ बाट ६.००, कुमारीले ५.७१ बाट ५.४१, सानिमाले ६.३३ बाट ६.१८, नेपाल एसबीआईले ५.५० बाट ५.३५, इन्भेस्टमेन्ट मेगाले ५.५० बाट ५.२५ र सिटिजन्सले ५.६५ बाट ५.५० प्रतिशतमा ब्याजदर घटाएको छ । यो मुद्धति निक्षेपको ब्याजदर हो । 

माछापुच्छ्रे«े, ग्लोबल आईएमई, एनएमबी र सिद्धार्थ बैंक ब्याजदर स्थिर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?