रुप्सेले दियो क्रिकेट खेलाडी रावललाई एक लाख सहयोग

लोकपथ
266
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारमा रहेको रुप्से होलिडेजले क्रिकेट खेलाडी सुशील रावललाई एक लाख सहयोग गरेको छ । मंगलबार क्यानका उपाध्यक्ष रोशन कुमार सिंहमार्फत रुप्सेले सहयोग रकम हस्तान्तरण गरेको हो ।

मंगलबार रुप्सेले अन्डर १६ उमेर समूहका क्रिकेट खेलाडी सुशील रावलको वृत्ति विकासका लागि भन्दै क्यानका उपाध्यक्ष रोशन कुमार सिंहमार्फत एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै नेपाली क्रिकेटसँग जोडिन पाएकामा गर्व लागेको बताए । साथै खेलाडी रावलले भने झैँ खेलाडीलाई खादा र माला भन्दा बढी आर्थिक पाटोमा सहयोग गर्नुपर्ने बताए । खेलाडीको वृत्ति विकासले नै नेपाली क्रिकेट अगाडि बढ्ने भन्दै क्रिकेट खेल र खेलाडीका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

रुप्सेले रावलका लागि प्रदान गरेको सहयोग ग्रहण गर्दै क्यानका उपाध्यक्ष सिंहले निजी क्षेत्रले पनि क्रिकेट खेलाडीको लागि सहयोग गर्नु सम्मानको कुरा भएको बताए । साथै रुप्सेले ग्रास रुट क्रिकेटका लागि पुराएको सहयोगको प्रशंसा गर्दै यस्ता सहयोगले नेपालको क्रिकेट माथि उठाउन सहयोग पुग्ने बताए ।

एसिसी यु–१६ इष्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका क्रिकेटर सुशील रावलले आफूलाई खादा र माला होइन आर्थिक सहयोगको खाँचो रहेको कुरा सामाजिक सञ्जालमा लेखेका थिए । आफू क्रिकेट खेलका तालिमका लागि भारत जान लागेको र त्यसका लागि आफूलाई एक लाख रुपैयाँ चाहिएको भन्दै उनले खादा र माला भन्दा आर्थिक सहयोगको आवश्यकता रहेको बताएका थिए ।

रावलको उक्त पोस्ट सामाजिक सञ्जालमा आए लगत्तै रुप्से होलिडेजले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । पूर्व घोषित सहयोग रकम रुप्सेले नेपाल क्रिकेट संघ (क्यान)मार्फत मंगलबार रावलका लागि हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?