काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि अनौपचारिक क्षेत्रलाई औपचारिकतामा ल्याउन जरुरी रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले औपचारिकीकरणले व्यवसायलाई कानुनी सुरक्षा, वित्तीय पहुँच र श्रमिक अधिकारको प्रत्याभूति दिने बताएका हुन् ।
अध्यक्ष ढकालले औपचारिकता बिना उत्पादकत्व वृद्धि, राजस्व संकलन र लगानीमैत्री वातावरण निर्माण सम्भव नरहेको बताए । हाल पनि देशमा ठूलो हिस्सा अनौपचारिक क्षेत्रको रहेको उल्लेख गर्दै उनले ती क्षेत्रलाई औपचारिक बनाउन राज्यले सहुलियत र प्रोत्साहन दिनुपर्ने धारणा राखे ।
उनले भने, ‘अनौपचारिक क्षेत्र औपचारिकतामा आएपछि मात्रै प्रतिस्पर्धी वातावरण बन्छ । राज्यले उनीहरूलाई कर, व्यवसाय दर्ता, कानुनी सुरक्षा र अन्य सेवामा सहजता दिनुपर्छ ।’
ढकालले व्यवसाय दर्ता प्रक्रिया अझै जटिल रहेको र करप्रणालीबारे अन्योलता कायमै रहेको उल्लेख गरे । उनले औपचारिक व्यवसायलाई अनावश्यक नियमनले दुःख दिइरहेको अवस्थामा अनौपचारिक क्षेत्र औपचारिकीकरणमा डराउने अवस्था सिर्जना भएको बताए ।
‘केही समयअघि हामीले आयात प्रतिस्थापनको कुरा गर्यौं,’ उनले भने, ‘तर सीमामा इनफर्मल आयात बढी हुँदा प्रतिस्पर्धाको वातावरण बनेन । त्यसले औपचारिक व्यवसायलाई निरुत्साहित बनाएको छ ।’
उनले औपचारिकीकरण अब विकल्प नभई आवश्यकता भएको स्पष्ट पारे । निजी क्षेत्रका मागहरूलाई सरकारले सुन्न थालेको र त्यसअनुसार नीतिगत सुधार हुन थालेकोमा उनले सन्तोष व्यक्त गरे ।
ढकालका अनुसार नीति निर्माणमा निजी क्षेत्रको सहभागिता र सुझावलाई स्थान दिइनु सकारात्मक संकेत हो । उनले लगानीमैत्री वातावरण सिर्जनाका लागि निजी क्षेत्रमैत्री नीतिहरू अपरिहार्य रहेको धारणा राखे ।
अन्त्यमा अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्वयं व्यवसायमैत्री वातावरण निर्माणमा सक्रिय रहेको बताए । नीतिगत सुधार र सहजीकरणमार्फत लगानी प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया