काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश आर्थिक रूपमा झनै कमजोर बन्दै गएको चेतावनी दिएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले देश झनै गरिबी, खाद्य संकट र बेरोजगारीको खाडलमा धकेलिँदै गएको बताएका हुन् ।
शर्माले पुँजीगत खर्च हुन नसकेको, आयात बढ्दो क्रममा रहेको र निर्यात घट्दो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे ।
त्यस्तै, राजस्व संकलनमा अस्थायी सुधार देखिए पनि समग्र अर्थतन्त्रको दीर्घकालीन स्थिति गम्भीर रहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले डाटा, तथ्य, तथ्यांकमा हेर्यौँ भने धनी र गरिबको खाडल झन् बढिरहेको छ । खाद्य संकट पनि बढिरहेको छ, बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरे पनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ, निर्यात घटिरहेको छ ।’
राजस्व वृद्धि भएको भन्दै आत्मरतिमा रमाउने प्रवृत्तिले देश बनाउने दिशामा प्रभाव पार्न नसक्ने भन्दै उनले चेतावनी दिए । ‘कुनै महिना एक अर्ब राजस्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला, तर त्यो समृद्धिको आधार बन्न सक्दैन,‘ शर्माले स्पष्ट पारे ।
सांसद शर्माले अब देश बनाउने विषयलाई केन्द्रबिन्दुमा राखेर ठोस नीति र कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया