स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपी बोगटीको नेतृत्वमा समिति गठन 

लोकपथ
357
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ । 

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । जसमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवर छन् । 

ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङले सार्वजनिक भएका विवरणहरूबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको बताए । उनले गठित समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्य तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको बताए । 

उनले भने, ‘सञ्चारमाध्यमहरूमा आएका विषयहरूमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’

सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो । बैठकमा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए । बैठकमा असम्बन्धित व्यक्तिहरू समेत स्पेनमा भएको कार्यक्रममा गएको हुनसक्ने निष्कर्ष निकालिएको थियो । त्यसपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।

स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए । प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका व्यक्तिहरू नफर्किएको भन्दै संसदमा समेत कुरा उठेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?