सरकारले सुशासनको धज्जी उडायो : प्रकाश ज्वाला

लोकपथ
84
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारले भ्रष्टाचार, घुसखोरी र जनविरोधी गतिविधिको नांगो नमूना प्रस्तुत गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद ज्वालाले सरकारको एक वर्षे कार्यकालमै सुशासनको धज्जी उडेको दाबी गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै, यो नै सुशासनको खिल्ली उडाउने कार्य भएको बताए ।

‘प्रधानमन्त्री, मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेर सुशासनको नांगो नमूना प्रदर्शन गरेका छन्,‘ज्वालाले भने, ‘मन्त्रीहरु भ्रष्टाचार, घुसखोरी र विवादमा मुछिनु विश्व रेकर्डजस्तै देखिन्छ ।

उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा बदनाम बनाएको उल्लेख गरे । साथै, भ्रष्टाचारको डिग्री दिनहुँ उकालो लागेको, घुसखोरी व्याप्त भएको, सम्पत्ति शुद्धीकरणको सूचीकृत ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’तर्फ देश अग्रसर भइरहेको चेतावनी दिए ।

ज्वालाले मल अभावका कारण किसान समस्यामा परेको, उखु किसानको अनुदान कटौती गरिएको, दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको, बजेटमा एकलौटी र ब्रह्मलुट भएको, योजना सेटिङमा किनबेच गरिएकोजस्ता मुद्दा उठाउँदै सरकारलाई कडा आलोचना गरे ।

उनले शिक्षा विधेयक समितिमा बन्दी बनाईएको, कुलिङ पीरियडमा चलखेल गरिएको, सहकारी र मिटरब्याज पीडित अझै न्याय नपाएको भन्दै सरकारले जनविरोधी अध्यादेशमार्फत शासन गरिरहेको आरोप पनि लगाए ।

सांसद ज्वालाले यस्ता अभ्यास लोकतन्त्र, सुशासन र जवाफदेहिताका मूल मर्मविपरीत भएको भन्दै तत्काल सच्याउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?