गणपतिको कार्यकाल सकिएको अन्तिम दिन सशस्त्रका एसपी प्रसाईंलाई दिइयो नसियत, बिदाबारीसमेत हुन पाएनन्

लोकपथ
55.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले आफूमातहतको नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई विभागीय कारबाही गरेको छ । 

बाहिनीमा प्राप्त उजुरी र त्यसपछि बाहिनीले गरेको छानबिनमा काभ्रे गणका गणपति प्रसाईंले सशस्त्र प्रहरी बलको आचरणविपरीत प्रशस्तै त्रुटि गरेको पुष्टि भएपछि उनलाई नसियत दिइएको हो । 

सशस्त्र प्रहरीमा नसियत दिइएका कर्मचारीलाई एक वर्ष विदेश तालिममा मौका दिइँदैन । यसैगरी एक वर्ष बढुवा र कमान्डको मौका पनि दिइँदैन । यो भनेको कुनै पनि कर्मचारीलाई ‘ब्ल्याक लिस्ट’ मा राख्नु जस्तै हो । साथै जागिर खाउन्जेल वृत्ति विकासमा यो धब्बा लागिरहन्छ ।

गणपति प्रसाईंका विषयमा उजुरी परेपछि नम्बर ३ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी पोखरेलले उनलाई सोधपुछका लागि केही दिनअघि बाहिनी कार्यालयमा तानेका थिए । साथै उनीमाथि परेको उजुरीलाई लिएर छानबिनका लागि बाहिनी कार्यालयबाट टोली नै पठाएको थियो । सो टोलीले गणपति प्रसाईंले रासनका लागि ६० प्रतिशत कर्मचारीलाई ‘आउट’ छाडेको, सशस्त्र प्रहरी कर्मचारीलाई तुच्छ व्यवहार गरेको, इन्द्रावती र रोशीका क्रसर व्यवसायीसँग सम्बन्ध राखेर रकम असुली गरेको बाहिनी कार्यालयलाई रिपोर्ट गरेको स्रोतको भनाइ छ । 

एक वर्ष काभ्रे गणको नेतृत्व गरेका प्रसाईंको सरुवा झापास्थित पाथीभरा जवान तालिम शिक्षालयमा भएको थियो । सशस्त्र मुख्यालयले गत असार ८ गते नै उनीसहित २३ एसपीको सरुवा गरेको थियो । तर त्यसबेला सरुवा भएकाहरू अब दुई तीन दिनभित्र मात्रै आफ्नो कार्यक्षेत्र जाँदैछन् । बाहिनीले गरेको कारबाहीका कारण भने गणपति प्रसाईं आफू कार्यरत काभ्रे गणमा गएर बिदाबारी पनि हुन पाएनन् । उनलाई झापास्थित पाथीभरा जवान तालिम शिक्षालय जान बाहिनीले निर्देशन दिइसकेको छ ।  

सशस्त्र प्रहरी बल सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी प्रसाईंको अक्षम्य गल्तीकै कारण गत असोज २८ गते उनीमातहतको विपद् व्यवस्थापन बेस आईटी पार्क पनौतीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको थियो । 

गत २०८१ असोज १० र ११ गते भारी वर्षा र कटानले काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको थियो । सो क्षतिको अवलोकन र बाढी, पहिरो पीडित नागरिकको अवस्था हेर्न गृहमन्त्री रमेश लेखक जाने भएपछि एसपी प्रसाईंले अस्पतालमा उपचार गराइरहेका बडुवाललाई डिस्चार्ज गर्न लगाएर डिउटीमा पठाएका थिए । त्यसबेला उनी निमोनियाले ग्रस्त थिए । बिरामी हुँदाहुँदै जबरजस्ती डिउटीमा पठाइएका बडुवालको स्वास्थ्य त्यसपछि भने झनै बिग्रियो । उपचारकै क्रममा असोज २८ गते उनले प्राण त्यागे । 

सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधनमा एसपी प्रसाईं ‘जिम्मेवार’ रहेको खुलेपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यसैबेला उनलाई कारबाही गर्न खोजेका थिए । तर झापा घर भएका एसपी प्रसाईंलाई कारबाही गर्न त्यसबेला सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीका पीए दीपेन्द्र दाहालले रोकेको चर्चा सशस्त्र मुख्यालयमा चलेको थियो ।

प्रधानमन्त्री ओलीका पीए दाहाल र एसपी प्रसाईं झापाको एउटै गाउँका हुन् । 

सशस्त्र प्रहरीमा एसपी प्रसाईंलाई विवादित र सन्की अधिकृतको रूपमा चिन्ने गरिन्छ । स्टाफ कलेज गरेको धाक लगाउँदै हिँड्ने उनलाई कमान्डमा जहाँ गएपनि एउटा न एउटा उपद्रो गरिहाल्ने अधिकृतकारुपमा पनि चिन्ने गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?