देउवाको आग्रह : ‘नेपालमा लगानीका लागि ढुक्क हुने वातावरण बनाउँ’

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा ढुक्क भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीकर्तालाई सहज र सरल तरिकाले लगानी गर्न सक्ने बाटो खोल्नुपर्नेमा जोड दिए ।

‘लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै मिल्दैन,‘देउवाले भने, ‘नेपालमा आएको विद्युत् खपत र व्यापारको जिम्मा सरकारको हो तर त्यसमा निजी क्षेत्रको सहभागिता पनि अत्यावश्यक छ ।’

उनले जलविद्युत् आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको भन्दै धितो पत्र बोर्डले चाँडै प्रक्रिया अगाडि बढाउने जानकारी पनि दिए । ‘शेयर निष्कासन रोकिएको कुरा सुनेँ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ,‘ उनले थपे ।

सभापति देउवाले ऊर्जा क्षेत्रलाई नेपालको लागि अत्यन्त महत्त्वपूर्ण प्रकृतिको देनको रूपमा व्याख्या गर्दै यस क्षेत्रको विकासमा ‘ग्रिन इनर्जी’ अर्थात् हरित ऊर्जामा विशेष ध्यान दिन आग्रह गरे । उनले भने, ‘उर्जाको विकासका लागि हामी अघि बढ्नै पर्छ, ग्रिन इनर्जीमा ध्यान दिएर राम्रो नतिजा ल्याउन सकिन्छ ।’

त्यस्तै उनले निजी क्षेत्रको भूमिकालाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै लोडसेडिङ अन्त्य हुनु निजी क्षेत्रको योगदान भएको बताए । ‘नेपालको आर्थिक तथा सामाजिक विकासमा उदारवाद र निजीकरणको नीतिले ठुलो योगदान दिएको छ, अब यसको कार्यान्वयनमा भएका कमजोरी सुधारेर अगाडि बढ्नुपर्छ,देउवाले बताए ।

उनको भनाइमा, लगानीमैत्री नीति र वातावरण तयार गरी नेपालमा दीर्घकालीन ऊर्जा सुरक्षासहित आर्थिक समृद्धिको बाटो खोल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?