अलग–अलग घटनाले दाङमा चार परिवार शोकमा

लोकपथ
140
Shares

दाङ । दाङ जिल्लामा छुट्टाछुट्टै घटनामा परेर चार जना किशोरको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा दुई किशोरले ज्यान गुमाएका छन् भने मोटरसाइकल दुर्घटनामा थप दुई किशोरको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र १६ वर्षीय कुशल बुढामगर बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनीहरू आफ्ना साथीसँग पौडी खेल्न गएका बेला डुबेका थिए । शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख देव केसीले जानकारी दिए ।

त्यस्तै, सोही दिन साँझ रामपुर–घोराही सडकखण्डको सिस्नेखोला पुलमा भएको मोटरसाइकल दुर्घटनामा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको पनि ज्यान गएको छ ।

रा७प ३२७० नम्बरको मोटरसाइकल घोराहीतर्फ आउँदै गर्दा सिस्नेखोला पुल नजिक अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

दुईवटा अलग–अलग घटनाले दाङ जिल्ला शोकमा डुबेको छ । स्थानीयवासी तथा आफन्तजनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?