काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै खसेको पहिरो र लेदोका कारण बीपी राजमार्गका काभ्रे जिल्लाभित्र पर्ने तीन स्थानमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास जारी छ ।
रोशी गाउँपालिका–११ माम्तीमा भेलबाढीले सडक कटान गरेको छ भने रोशी–९ स्थित खहरे खोलामा आएको लेदोले गएराति बाटो थुनिएको छ । त्यस्तै, सोही वडाको बिरुवाडाँडामा पनि खहरे खोलाको लेदोले सडक अवरुद्ध गरेको सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिको समन्वयमा जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ । यसअघि पनि यही असार २५ गते मङ्गलटारस्थित बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।
लगातारको वर्षाले आइतबार साँझदेखि नै रोशी क्षेत्रका विभिन्न स्थानमा खोलाबाट लेदो झरेर सडक अवरुद्ध बनाएको थियो। रातभरको प्रयासपछि सोमबार बिहान दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको भए पनि पुनः लेदो खस्न थालेपछि समस्या दोहोरिएको हो ।
बीपी राजमार्ग अन्तर्गत पिन्थली क्षेत्रमा पनि पटक–पटक सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ । असार १६, २५ र २६ गते पनि सो स्थानमा यस्तै समस्या देखिएको थियो । प्रहरीले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया