काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज बागमती सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमतीसहित कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो र राति दुवै समय भारी वर्षाको सम्भावना
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्य बदली हुने र कोशी, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ । त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाढी, पहिरो र भूक्षयको जोखिम
भारी वर्षाको सम्भावनाका कारण बाढी, पहिरो, भूक्षय र गेग्र्यान बहावको जोखिम हुने भएकाले यी पाँच प्रदेशमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । खास गरी नदी किनार, डाँडाकाँडामा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन भनिएको छ ।
महाशाखाले नागरिकहरूलाई यात्रा गर्दा आवश्यक सावधानी अपनाउन, सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन तथा मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिनसमेत सुझाव दिएको छ ।
देशभरको वर्षा गतिविधि अझै केही दिन यस्तै रहने भएकाले नागरिक, स्थानीय प्रशासन तथा आपत्कालीन निकायहरूलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया