लेनदेनको अडियोबारे के भन्छन् भूमि व्यवस्थामन्त्री अधिकारी ?

लोकपथ
826
Shares

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो नाम जोडिएको लेनदेनको अडियोबारे बचाउ गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरका क्रममा जवाफ दिने क्रममा मन्त्री अधिकारीले त्यसमा आफू कतै नजोडिएको भन्दै बचाउ गरेका हुन् । साथै भूमि आयोगको अध्यक्ष बनाउने नाममा कसैसँग पनि आर्थिक लेनदेनको कुरा नभएको उनको दाबी छ ।

केही दिनअघि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित मन्त्री अधिकारीको समेत लेनदेनमा नाम जोडेर अडियो सार्वजनिक भएको थियो ।

सोही विषयमा आजको बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रश्न गरेका थिए ।

त्यसबारे जवाफ दिँदै मन्त्री अधिकारीले आफू र आफ्नो मन्त्रालयसँग जोडिएको वा वा आयोगको अध्यक्ष चयन गर्ने सम्बन्धमा कतै आफू पनि जोडिएको पाए तथ्य ल्याउन चुनौती दिए ।

‘मैले अघि पनि भनेको छु, आयोग वा आयोगका कुनै पनि सदस्यहरू बनाउने सन्दर्भमा म मात्रै होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार र डिलहरू गरेका रहेछन् भने यहाँहरूले यथार्थता ल्याइदिनुस्, त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौँ । तर अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्रहत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने काममा यहाँहरू नलाग्नको लागि मैले अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

साथै उक्त अडियो अहिलेसम्म किन बाहिर आएन भन्ने विषयमा उनले आफूहरुले अरुको विषयमा उत्तर खोजिरहनु जरुरी नरहेको समेत बताए ।

‘जहाँसम्म किन अहिलेसम्म आएन भन्ने कुरा हो, कसैले कुनै चौरमा कुरा गर्छ, कसैले कुनै घरमा कुरा गर्छ, हामीले त्यसको उत्तर खोजिरहनुपर्छ भन्ने मलाई लाग्दैन । सत्य सत्य नै हुन्छ,’ उनले भने, ‘त्यसकारण जुन औँलामा बिख लाग्छ, त्यै औँलो झर्छ, यहाँहरूले त्यो कुरालाई बुझ्नु नै हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?