त्रिवि क्रिकेट मैदानबारे ओली–प्रचण्डको जस लिने होडबाजी

लोकपथ
357
Shares

काठमाडौं । सोमबार प्रतिनिधि सभा बैठकमा बोलेका पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आलोचना गरे । उनले एकवर्षअघि आफू सरकारबाट बाहिरिनुपरेको कारणहरु पुनः संसदमा दोहोर्याए ।

आफू नेतृत्वको सरकारले व्यापक काम गरेको तर वर्तमान सरकारले केही गर्न नसकेको स्वभाविक सवालहरु प्रचण्डले उठाए ।

प्रचण्डले सरकारमाथि आलोचना मात्र गरेनन्, उनले यदी सरकार संविधान संशोधनको विषयमा अघि बढ्ने हो भने आफू पूर्ण रुपले सहयोग गर्न तयार रहेको बचन दिए ।

तर कतिपय बनिरहेका भौतिक संरचनाहरुका विषयमा भने सत्ता र प्रतिपक्षबिच होडबाजीमा नै देखिएको छ ।

आजको बैठकमा प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिस्तरको क्रिकेट रंगशाला निर्माणका लागि आफूले पहल गरेको दाबी गरे । तर गत वर्ष ओलीले पहिलो मन्त्रिपरिषद् बैठकबाटै त्रिवि क्रिकेट रंगशाला ३०० कार्यदिनमा सम्पन्न गर्ने पहिलो निर्णय गरेका थिए ।

प्रचण्डले आजको बैठकमा स्मरण गराउँदै भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबिचमा हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । ्

‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट  ? भन्दै उहाँले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औँल्याएका थिए ।

क्रिकेट रंगशालासहित कतिपय सवालमा प्रचण्डले प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डप्रति कटाक्ष गरेका छन् । उनले प्रचण्डलाई कीर्तिपुरमा प्यारापिट र फ्लडलाइट बनिरहेको भन्दै हेर्न जान सुझाव दिए ।

‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?

मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ,’ उनले भने ।

त्यति मात्र होइन प्रचण्ड प्रधानमन्त्री हुँदा टाइमलाइन तोकेर काम नगरेको भन्दै आफूले कम्तिमा टाइमलाइन तोकेरै काम गरेको दाबी गरे । साथै प्रचण्ड नेतृत्वको सरकारले छाडेको अर्थतन्त्रलाई माथि पुर्याएको दाबी समेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन,’ उनले भने, ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?