काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । उनले विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र ऊर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए । उनले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार र दिगो भविष्यको आधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपालमा जलविद्युत उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार तथा दिगो भविष्यको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ ।
विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धि नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई ऊर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ । विद्युत् उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रसारण आएको विस्तार र विदेशी लगानी तथा निजी लगानीकर्ताको साझेदारीले ऊर्जा उत्पादन र आपूर्ति प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको छ ।’
उनले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाइ मात्र विद्युत् उत्पादन गर्न सकिने पनि बताए । उनले विद्युत् उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत् आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया