काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम गराइप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाए ।
संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ ।
उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गरे ।
वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।
उनले भने, ‘दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसदको जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत बिचौलियाहरुको खेल मैदान बनाइँदैछ । यो देश र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।’
उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।
संसदमा सम्बोधन गर्दै उनले आफ्नो कार्यकालको प्रशंसा समेत गरेका छन् । वर्तमान सरकार सुशासनदेखि डराएर आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै उनले आफूले सुरु गरेको कामको जस अहिलेको सरकारले लिइरहेको बताए ।
त्यस्तै उनले सरकारले संविधान संशोधनको विषय भुलेको भन्दै स्मरण समेत गराए । उनले यदी सरकारले संविधान संशोधनका लागि लाग्ने भए आफूले सरकारलाई दुई तिहाइ बहुमत पुर्याइदिने बचन समेत दिए ।
पूर्णपाठ पढ्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया