संविधान संशोधनका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रचण्डको बचन

लोकपथ
287
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

त्यसो त वर्तमान सरकार गठनको एउटा प्रतिबद्धतामा संविधान संशोधनलाई मुख्य विषय बनाइएको थियो । तर अहिले सरकारले त्यसलाई भुलेको भन्दै आज सत्तापक्षकै कतिपय सांसदहरुले विरोध जनाएका थिए ।

आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान जारी हुँदादेखिको असन्तुष्टिलाई हल गर्ने गरी अघि बढ्ने हो भने आफूले दुई तिहाइ बहुमत पुर्याइदिन सहयोग गर्ने बचन दिए ।

‘संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी संविधानको अग्रगामी संशोधनको गर्ने, शासकीय स्वरुप, निर्वाचन प्रणाली, प्रदेशको नामांकन, सीमांकन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय संघीयता अझ राम्रो संघीयता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने म सरकारलाई भन्न चाहन्छु, यदी तपाईँहरुलाई त्यसो गर्न दुई तिहाई पुगेन भने दुई तिहाई बहुमत जुटाउने काम हाम्रो दलले गर्नेछ । ढुक्कसँग अगाडि बढ्नुहोस् । म सरकारलाई सोध्छु, के सरकारसँग यो हिम्मत छ ?,’ उनले भने ।

प्रचण्डले सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै चेतावनी दिए ।

‘तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ । यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ,’ उनले भने ।

त्यस्तै, आर्थिक संकटको समाधानमा पछिल्लो कार्यकालमा देखिएको सुधार पनि माओवादी नेतृत्वको परिणाम भएको उनको दाबी थियो ।

अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली, कार्यशैली, र शासकीय संरचना नै जनतामा बढ्दो असन्तुष्टिको कारक बन्न थालेको उल्लेख गर्दै त्यसप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाली जनताको अपेक्षाअनुरुप शासन प्रणाली सञ्चालन हुन सकेको छैन । व्यवस्थाप्रति जनविश्वास घटिरहेको छ । अब गम्भीर समीक्षा अनिवार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?