‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार, अब प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिने ?’

लोकपथ
455
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा डुबेको भन्दै कटाक्ष गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको एक वर्षको समीक्षा गर्दै सो कुरा बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको अभिव्यक्तिमा टिप्पणी गरे । कुनै बेला प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचारको विषयमा चित्रगुप्तासँग समेत बयान दिन सक्ने अभिव्यक्ति दिएका थिए ।

त्यसबारे स्मरण गराउँदै अहिले जताततै भ्रष्टाचार भएको र प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिने होला ? भन्दै प्रश्न गरे ।

‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचारबारे भन्नुभएको थियो, चित्रगुप्तलाई बयान दिन तयार छु । यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नुभएको होला । अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,’ प्रचण्डको प्रश्न थियो ।

त्यस्तै उनले राज्यका हरेक निकायहरुमा दलीय भागबण्डा भएको भन्दै त्यसलाई चिर्न सरकार चुकेको आरोप लगाए ।

साथै उनले दलित समुदायमाथि बजेटमै छुवाछुत गरिएको गम्भीर आरोप लगाउँदै भने, ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो। समाजमा मात्र होइन, तपाईंहरूको बजेटमै दलितमाथि विभेद देखिन्छ ।’

प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको सुशासनको कामलाई वर्तमान सरकारले भत्काउने काम गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?