काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैँले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उनले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको टिप्पणी गरे।
प्रचण्डले भने, ‘रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैकारण रेमिटेन्स बढेको देखिएको हो । तर, सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ ।’
उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैंकहरूमा ६–७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्यांक प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको आरोप लगाए ।
सरकारको नीतिका कारण पूँजी पलायन हुने, बचत निरुत्साहित हुने, कमजोर प्रतिफल भएका क्षेत्रमा लगानी हुने र त्यसले अर्थतन्त्रलाई अझ संकटमा पुर्याउने खतरा औंल्याएँ ।
प्रचण्डले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना, र दीगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रित गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने उनले बताए ।
उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको उदाहरण दिँदै उनले भने, ‘मेरो सरकारले फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, नयाँ सरकारले त्यसलाई प्रतिष्ठाको विषय बनाउँदै ३०० दिनमा निर्माण सकिने घोषणा गर्यो। एक वर्ष बितिसक्दा न फ्लडलाइट जडान भयो, न प्याराफिट बन्यो ।’
त्यसैगरी, राष्ट्रिय गौरवका आयोजना पनि सरकारको प्राथमिकतामा नपरेको उनको आरोप छ । सुनकोशी–मरिन डाइभर्सनदेखि महाकाली करिडोरसम्मका योजनाको प्रगति अत्यन्तै कमजोर रहेको बताए ।
‘प्रगति अधिकांश आयोजनामा ५० प्रतिशतभन्दा कम छ, कतिपय त १० प्रतिशत पनि नाघेका छैनन् । बैठक बसेर निर्देशन दिएर मात्र काम अघि बढ्दैन । नियमित अनुगमन र ठोस पहल चाहिन्छ,’ उनले भने ।
उनले वर्तमान सरकार योजनावद्ध, उत्तरदायी र क्रियाशील ढंगले काम गर्न नसकेकोले देशले आर्थिक अवसर गुमाएको र विकासको गति सुस्त भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया