काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ०८१ असार १७ गते दुई दल मिलेर गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।
सरकार गठन हुँदा एमाले र कांग्रेसबिच ७ बुँदे सहमति भएको थियो । जसमा भ्रष्टाचार नियन्त्रणदेखि संविधान संशोधनका विषयहरु रहेका थिए । तर सरकारले अहिले त्यसलाई बिर्सिएको भन्दै नेता केसीले गरेको प्रतिबद्धता पूरा नगरेर सरकारले जनतामाथि धोका गरेको आरोप लगाए ।
त्यस्तै सरकार गठनको एक वर्षमा भ्रष्टाचार नियन्त्रण र पारदर्शी सुशासनको वर्तमान परिस्थितिको निर्मम समीक्षा, मूल्यांकन, उपलब्धी र कमजोरीको विश्लेषण गर्नुपर्नेमा सरकार चुकेको बताए ।
नेता केसीले संसदमा बोल्दै भने :
नेपाली कांग्रेस र एमालेकोबिचमा २०८१ साल असार १७ गते ७ बुँदे सत्ता समीकरणमा गरिएको दोस्रो बुँदामा संविधान संशोधनको प्रतिबद्धता गरिएको थियो । वास्तवमा भन्ने हो भने दुवै दलको सत्ताको औचित्य स्थापित गरेको थियो । तर एक वर्ष बितिसक्दा पनि यो प्रतिबद्धता भाषणा, नारा र चर्चामा मात्र सीमित रह्यो ।
यो प्रतिबद्धताप्रतिको धोका र सरकारको असफलता हो । सरकार गठनको एक वर्षमा भ्रष्टाचार नियन्त्रण र पारदर्शी सुशासनको वर्तमान परिस्थितिको निर्मम समीक्षा, मूल्यांकन, उपलब्धी र कमजोरीको विश्लेषण गरी न्याय रणनीति तर्जुमा गर्दै जनमानसमा व्याप्त असन्तुष्टी र निराशाको सम्बोधन अहिलेको अपरिहार्य अनिवार्यता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया