लिङ्देनको आक्रोश– ‘राजावादीलाई तह लगायौँ भन्ने अनि भ्रष्ट मन्त्री च्यापेर बस्ने ?’

लोकपथ
238
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देलनले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष लिङ्देलनले मन्त्रीहरु भ्रष्टाचारको काण्डमा मुछिएको विषयमा प्रश्न उठाए ।

उनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न गरे । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाउने तर लेनदेनको काण्डमा मुछिएको मन्त्रिहरुलाई काखी च्यापेर बसिरहेको भन्दै कटाक्ष गरे

‘कहाँ छ यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज देशले जनताले खोजिरहेको छ । मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइराखेको छ । यदी नैतिकता छ भने, सुशासनप्रति अलिकति मात्रै पनि प्रतिबद्धता छ भने मन्त्रीहरुको राजीनामा आउनुपर्ने हो कि होइन, मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने हो कि होइन ? ओहो ! राजावादीलाई तह लगायौँ, गणतन्त्रविरोधीलाई तह लगायौँ भनेर जनतालाई डंका पिटेको त के रहेछ भने छट्टु स्यालको कथा पो रहेछ,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्ने ? जनताको ध्यान एकातिर लगेर, मन्त्रिपरिषद्मा बसेर दुई ठूला ठूला पार्टी मिलेर बस्ने र अरु जनताले टुलुटुल हेरेर बस्नुपर्ने ? यो कुरा कदापी सैह्य हुँदैन सभामुख महोदय । यसको प्रतिवाद हुन्छ, हामी संसदबाट पनि विरोध गरिाखेका छौँ र आवश्यक पर्यो भने सडकबाट पनि यसको प्रतिवाद गरिन्छ ।’

आफूहरुले भिजिट भिसा प्रकरणबारे निरन्तर आवाज उठाइरहेको तर यसको गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै लिङ्देनले सभामुखलाई समेत आफूहरुले उठाएको विषयमा पहलकदमी लिन आग्रह गरे । उनले सभामुखको कार्यकालकै सबैभन्दा कालो समय रहेको भन्दै उनले छलफलका माध्यमबाट आफूहरुको माग सम्बोधन गर्न आग्रह गरे ।

‘म संसदीय इतिहासमा कालो दिन हो सभामुख महोदय, दुई महत्वपूर्ण पार्टीहरुले डेढ महिनादेखि संसदमा विरोध जनाइरहँदा जबरजस्ती रुपमा संसद चलाउने जुन काम भइरहेको छ केवल सरकारको अकर्मन्यता, सरकारको उदासिनताको कुरा मात्र होइन सभामुख महोदय, तपाईँको कार्यकालको सबैभन्दा कालो समयको रुपमा पनि यो समय उल्लेख रहनेछ । सभामुखले पहल गर्नुपर्यो, प्रयास गर्नुपर्यो, छलफल गर्नुपर्यो प्रतिपक्ष दलहरुले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयन्त गराउनुपर्यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?