काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदरभन्दा केही उत्तरतिर सक्रिय रहेको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्यतया बादल लागेको छ भने अन्य भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आजको पूर्वानुमानअनुसार, देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी, भूक्षय र गेग्रान बहावको जोखिम उच्च रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको हुँदा सावधानी अपनाउन जनसाधारण र सम्बन्धित निकायहरूलाई सचेत गराइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया