काठमाडौं । वर्तमान नेपाली कांग्रेस र नेकपा एमालेबिच सहकार्य भइ सरकार गठन भएको १ वर्ष पुग्यो । माओवादीसँगको सहकार्य तोड्दै नेकपा एमालेले कांग्रेससँग सहकार्यको प्रस्ताव अघि सारेको थियो । ०८१ साल असार १७ गते मध्यराति कोरिएको खाका अनुसार ०८१ असार २९ यानेकी एकवर्षअघि आजैको दिनबाट नयाँ समीकरण बनेको थियो ।
सरकार गठनको एक वर्ष पूरा हुँदा सत्ताहरुढ दलहरु नै सरकारको काम गराइप्रति सकारात्मक हुन सकेका छैनन् । विशेषतः नेपाली कांग्रेसकै कतिपय जिम्मेवार नेताहरुले सरकारको आलोचना गर्दै आइरहेका छन् ।
सरकारले उत्कृष्ट काम गरिरहेको स्वंयम सत्ता सहयात्री दलका जिम्मेवार नेताहरुले नै गर्न नसक्दा विपक्षीहरुबाट स्वभाविक रुपमा प्रश्न उठ्ने गरेका छन् ।
एक वर्षमा सरकारको कार्यकाल मिश्रित रहेको बताउँछन् नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महत ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद महतले यस्तो बताएका हुन् ।
स्रोत र साधनको सीमितताको कारण सबै अपेक्षाहरु पूरा हुन नसकेकोउनको भनाइ छ ।
यद्यपि निजी क्षेत्रलाई चलायमान बनाउन आवश्यक पाँच वटा कानून संसदबाट पारित हुनु सरकारको सफलता भएको उनको दाबी छ ।
उनले भने, ‘समग्रमा सरकारको एक वर्ष मिश्रित रह्यो । हाम्रा अपेक्षाहरु धेरै छन् । सबै अपेक्षाहरु पुरा हुन्छन् हुन गाह्रो छ । किनभने सीमित स्रोत र साधनका कारण सबै अपेक्षाहरु पुरा हुन सक्दैनन् । तथापी यो वर्षमा केही राम्रा कामहरु पनि भएका छन्,’ उनले भने, ‘निजी क्षेत्रलाई चलायमान बनाउनको लागि पाँच वटा कानून बनेका छन् । अन्य कानूनहरु पनि पारित भएका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यद्यपि डेलिभरी र सुशासनको कुरामा, आम नागरिकले सेवा पाउने कुरामा झमेला, ढिलासुस्ती र लेनदेनका कुराहरु पनि आएका छन् । यसमा सरकार गम्भिर हुनुपर्छ । र सरकारले आफ्नो संयन्त्रलाई बजबुत बनाउनुपर्छ । समग्र कर्मचारी क्षेत्रले जनता र देशलाई केन्द्रमा राखेर काम गरुन् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ ।’
सरकारले आफ्नो संयन्त्र बलियो बनाएर कर्मचारीहरुलाई जनता र देशलाई केन्द्रमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।
त्यसो त डा. महत मात्रै होइन कांग्रेसभित्र धेरै शीर्ष नेताहरु छन् जसले सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । केही समय अघि कांग्रेस महामन्त्री गगनकुमार थापाले त प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको आरोप लगाएका थिए । त्यस्तै सरकारले डेलिभरी दिने भन्दा पनि विभिन्न प्रकरणहरुमा मुछिँदै गएको भन्दै कटाक्ष गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया