काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले वाइसिएल लगाएर भ्रम फैलाउने काम गरेको बताएका छन् ।
झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले आफू नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन स्पेन गएको बताए ।
स्पेन भ्रमण सफल भएसँगै त्यसबाट छट्पटाएर माओवादी केन्द्रले योजनावद्ध ढंगले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार फिँजाउने काम गरेको बताए । अहिलेको देशको प्रधानमन्त्री (केपी शर्मा ओली) ले एक पैसा भ्रष्टाचार नगर्ने, कुनै प्रकारको अनैतिकता नगर्ने र गैरकानूनी काम नगर्ने दाबी गरे ।
भ्रष्टाचार र गैरकानूनी काम गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी नभएको
प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले म नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा स्पेन गएँ । अत्यन्तै सफल भयो कार्यक्रम । त्यो सफलताबाट एउटा राम्रो सन्देश संप्रेषण भयो । राम्रो गर्यो भन्ने आयो । त्यसबाट छट्पटाएर प्रमुख प्रतिपक्ष पार्टीले योजनावद्ध ढंगले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार फिँजाउने, त्यसो गरेपछि उसका राम्रा काम ओझेल पर्दछन् । मान्छे छोड्यो भन्ने हल्ला चलाउने भन्ने योजनावद्ध ढंगले निर्देशित गरेर वाइसिएल परिचालन गर्यो । कोही सोझै वाइसिएल, कोही वाइसिएलका साथी, कोही वाइसिएलका श्रीमतीहरु कराए । कति पार्लियामेन्टमै पनि कराए । अनि पत्रकारहरुले सोध्दा प्रधानमन्त्रीलाई सोध्नुस् न । लाज सरम छैन ? आफू बोल्ने अनि प्रधानमन्त्रीलाई सोध्ने । यो देशको प्रधानमन्त्री, अहिलेको केपी ओली एक पैसा भ्रष्टाचार गर्दैन, कुनै प्रकारको अनैतिकता गर्दैन, गैरकानूनी काम गर्दैन, म रास्वपा होइन । म माओवादी होइन । त्यसकारण कुनै प्रकारको नचाहिने काम गर्दैन । अनि प्रधानमन्त्रीलाई सोध्नुपर्ने ? आफूले किन बकवास गरेको त्यो जवाफ दिनुपर्छ नि । समाचार आइरहेको छ, तिमीहरुले नै छपाएको त हो नि । स्यालहुँइया गरेर । झुटो प्रचार गरिएको त हो नि । यस्ता वकवास गरेर राजनीति गर्ने घटिया प्रवृत्ति यस्ताका विरुद्ध पनि एमाले लड्नुपरेको छ ।’
प्रधानमन्त्री ओलीले योजनावद्ध रुपमा झुटो कुराहरु सञ्चारमाध्ययमा छपाउने काम समेत राजनीतिक दलहरुले गरेको बताए । वकवास गरेर राजनीति गर्ने घटिया प्रवृत्ति विरुद्ध पनि एमाले लड्नुपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया