फुस्रे खोलामा बेपत्ता भएका पुरुषको शव फेला

लोकपथ
560
Shares

कास्की । पोखरा महानगरपालिका–१७ पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।

पोखरा–५ प्रस्याङका ३० वर्षीय प्रकाश त्रिपाठी असार २८ गते पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए। 

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खटिएको गोताखोर टोलीले असार २९ गते बिहान त्रिपाठीको शव खोलाको करिब ३० फिट गहिराइबाट फेला पारेको हो।

सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा उद्धारमा खटिएको टोलीले स्थानीय सुरक्षाकर्मी र जनप्रतिनिधिसँग समन्वय गर्दै खोजी कार्य सञ्चालन गरेको थियो।

डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार त्रिपाठी पौडी खेल्ने क्रममा सन्तुलन गुमाएर खोलाको गहिरो भागमा पुगेका थिए।

उनले भने, ‘साउन लागे पनि खोलामा पानीको बहाव तीव्र भएकाले सचेत रहन सबैलाई अनुरोध गर्दछौँ। खोलानाला आसपास खेलकुद गर्दा सावधानी अपनाउनु अत्यन्त जरुरी छ।’

उद्धारपछि मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?