काठमाडौं । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमितिले ६ जनाको नाम सिफारिस गरेको छ ।
राप्रपा जिल्ला कार्यसमिति रुपन्देहीको आज बसेको बैठकले केन्द्रलाई ६ जनाको नाम सिफारिस गरेको हो ।
जसमा राप्रपा केन्द्रीय सदस्यद्वय बसन्तविक्रम शाही, स्वाती थापा, राप्रपा रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरु प्रज्ज्वल बोहरा, गौरव बोहरा र जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको हो ।
गत निर्वाचनमा सो क्षेत्रबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा निर्वाचित भएका थिए । उनको केही समय अघि मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
दीपक बोहराको निधन भएसँगै सो क्षेत्रमा प्रतिनिधित्वका लागि उनकै परिवारका सदस्यहरुबाटै नै धेरै आकांक्षी देखिएका छन् ।
अहिले नाम सिफारिस भएकामध्ये गौरव र प्रज्वल बोहराका छोराहरु हुन् भने स्वाती थापा नातिनी हुन् । गत निर्वाचनमा स्वाती बोहराको चुनावी कमाण्डर बनेकी थिइन् । गौरव बुद्ध एयरका सिरियर पाइलट हुन् भने प्रज्वल इन्जिनियर हुन् ।
सर्वसम्मत उम्मेदवार छनोट हुन नसकेपछि केन्द्रले आवश्यक प्रक्रिया र तयारी थाल्न जिल्ला समितिलाई निर्देशन दिएको थियो । यता राप्रपाले उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् ।
निर्वाचन आयोगले आगामी कार्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेसँगै सो क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । उक्त क्षेत्रमा नयाँ पुराना दलसहित स्वतन्त्र उम्मेदवारहरु समेत देखिएका छन् । स्वतन्त्रबाट उठ्ने बाहेक अन्यले भने उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया