काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेमाथि प्रहार गर्न थालेको आरोप लगाएका छन् ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागहरुको भेलामा बोल्दै उनले नेपाली कांग्रेससँग मिलेर बनेको नयाँ सरकारमा रास्वपालाई सहभागी नगराउने निर्णयसँगै रास्वपाको आक्रमण सुरु भएको बताएका हुन् ।
पोखरेलले भने, ‘त्यतिबेला रास्वपाका नेताहरुको भरोसाको केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओलीको घर थियो । उनीहरुको बस–उठ त्यहीँ केन्द्रित थियो । कांग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगराउने निष्कर्षमा पुग्यौँ, त्यसपछि उनीहरुले प्रहार गर्न थाले ।’
उनले सामाजिक सञ्जालको माध्यमबाट जनतामा निराशा फैलाएर आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न खोजिएको आरोप समेत लगाए । ‘निराशाको खेती गरेर त्यसको विकल्पका रूपमा आफ्नो औचित्य प्रमाणित गर्ने र पपुलिजम प्रवर्द्धन गर्ने काम भयो, ‘पोखरेलले आरोप लगाए ।
एमालेले रास्वपालाई परीक्षणका रूपमा सत्ता साझेदार बनाएको जनाउँदै पोखरेलले गृहमन्त्रालय, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री जस्ता जिम्मेवारीसमेत दिएको स्मरण गरे । ‘हामीले पपुलिस्ट शक्तिलाई कामद्वारा आफूलाई प्रमाणित गर्न अवसर दिनुपर्छ भनेर ठाउँ दियौँ, ‘उनले भने ।
महासचिव पोखरेलले रवि लामिछाने थुनामा जानु तल्लो अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा गएको प्रक्रिया भएको समेत प्रष्ट पारे । ‘आज रवि लामिछाने थुनामा हुनुको कारण अदालतको फैसला र त्यसविरुद्ध अपिल गर्नुको परिणाम हो, ‘उनले भने ।
उनका अनुसार वैकल्पिक शक्तिको नाममा जनभावनालाई उच्छृंखल बनाउने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर चुनौती हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया