झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलाई तीव्रता दिँदै अबको १५ वर्षभित्र नेपालबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् ।
झापाको गौरीगञ्ज–आमबारी सडकखण्डअन्तर्गत रतुवा नदीमाथिको पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण र व्यावसायिकरणतर्फ लैजाने योजना अघि सारे । उनले स्थानीय तहहरूलाई आधुनिक कृषि प्रविधि अपनाएर नमुना कार्य गर्न आग्रह गरे ।
‘अब नेपालमा गरिबीको आयु १५ वर्ष मात्र बाँकी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अवधिमा हामीले गरिबी अन्त्य गरेर देशलाई आधुनिक र विकसित दिशातर्फ डोर्याउनुपर्छ। आवश्यक पूर्वाधार तयार भइसकेका छन् विद्युत्, सञ्चार, आइटी जस्ता क्षेत्रमा प्रगति भएका छन् ।’
उनले रतुवा पुल जस्ता संरचना निर्माणले स्थानीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘अब बाटो, पुल, सिचाइ आयोजना तीव्र गतिमा अगाडि बढ्छन्,’ उनले भने, ‘विकास निर्माणको क्षेत्रमा अहिले असाधारण गति आएको छ ।’
आइटीको प्रयोगले केही व्यक्तिहरू गलत बाटो लागे पनि समग्रमा देशले सकारात्मक दिशा लिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधिहरू र नागरिकहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया