काठमाडौं । नेकपा (एमाले)की सांसद सुनिता बरालले नेपाली जनताले वाचा नभई जबाफदेहिता खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बरालले यस्तो धारणा राखेकी हुन् ।
उनले राज्यका निकायहरू निश्प्रभावी हुँदै गएको कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताइन् । केही गैरसरकारी संस्थाहरूले असम्बन्धित व्यक्तिहरूलाई विदेशी कार्यक्रममा पठाउने विषय समेत निकै संवेदनशील रहेको उनको भनाइ छ ।
यसअघि प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गैरसरकारी संस्थाबाट गएका नागरिकहरू नफर्किएका समाचारहरू सार्वजनिक भएका थिए । उनले संस्था वा व्यक्तिको लाभका लागि असम्बन्धित कार्यक्रममा पठाउने संस्थाहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘कतिपय विदेशी कार्यक्रममा कर्मचारी, नेता, कलाकार, खेलाडी जाने कुरा स्वाभाविक छ । विदेशी मूलकले भिसा एप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई सोध्ने गर्दैन । तर अहिले केही गैरसरकारी संस्थाहरूले असम्बन्धित व्यक्तिहरूलाई विदेशी कार्यक्रममा पठाउने गरेको समाचार निक्कै संवेदनशील छ । यदि त्यस्तो हो भने संस्थाले आफ्नो वा व्यक्तिको लाभका लागि यस्तो गरेको हो भने राज्यका निकायहरूमार्फत छानबिनको दायरामा ल्याइनुपर्छ । र दोषीलाई कारबाही गर्नुपर्छ । आज राज्यका निकायहरू कमजोर हुने र निश्प्रभावी भएको हुन कि भन्ने कुरमा सरकारको ध्यान जानुपर्छ । आज नेपाली जनताले वाचा होइन जबाफदेहिता खोजेको कुरामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले सेवा प्रवाह, सुशासन लगायतका कुरामा ध्यान दिन जरुरी रहेको समेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया