प्रधानमन्त्रीको स्पेन भ्रमण : भिजिट भिसामा गएकाहरु उतै बसेको आरोप

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोग सम्बन्धी घटनाको छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा स्पेनमा आयोजित कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै गम्भीर छानबिनको माग गरे ।

‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ,’ उनले भने, ‘यसको छानबिन गरौँ। संसदीय छानबिन समिति बनाउन सरकारले किन डराइरहेको छ?’ भन्दै सरकारमाथि प्रश्नसमेत गरे ।

शाहीले भिजिट भिसाको नाममा भइरहेको दुरुपयोग, मानव तस्करीको आशंका र राजनीतिक संरक्षणको सम्भावना रहेको भन्दै सत्यतथ्य पत्ता लगाउन संसदीय समिति अपरिहार्य भएको बताए ।

उनले चेतावनी दिँदै भने, ‘भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’

शाहीको यो अभिव्यक्तिले संसदभित्र स्पेन प्रकरण र भिजिट भिसा सम्बन्धी गम्भीर बहसको संकेत दिएको छ। यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोही विषयमा सरकारसँग जवाफ माग गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?