काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। आइतबारसम्म बेपत्ता ११ जनाको शव फेला परेको छ भने अझै १७ जना बेपत्ता रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जानकारी दिएका हुन् ।
भट्टका अनुसार घटनास्थलमा खोज र उद्धारका लागि हालसम्म १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ। स्थल उद्धारमा ७ सय ४९ जना र हवाई उद्धारमा २ सय जना सक्रिय छन् ।
बाढीका कारण २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी र ६ वटा सिंगो सवारीहरु बगेका छन्। साथै २ वटा पुल पूर्णरूपमा भत्किएका छन् भने एउटा पुलमा आंशिक क्षति पुगेको छ ।
स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक खण्डमा ठूलो मात्रामा क्षति पुगेको छ । यस सडकखण्डका १ हजार २०० मिटर सडक पूर्णरूपमा बगाइसकेको छ ।
तीन वटा हाइड्रोपावरमध्ये रसुवागढी ११० मा सबैभन्दा धेरै क्षति पुगेको छ भने अन्य दुईमा पनि असर परेको छ। भट्टले हिमताल फुटेको हुन सक्ने प्रष्ट अनुमान गरिएको बताए ।
बाढीले पुलहरू बगाउँदा रसुवा र चीनबीचको आवतजावत पूर्णरूपमा बन्द भएको छ । घटनाको थप खोजतलास र उद्धार कार्य जारी रहेको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले प्रभावित क्षेत्रको उद्धार र राहतका लागि प्रयास तीव्र पारिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया