काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा असारको दोस्रो साता भएको ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ मा ‘आर्थिक चलखेलकै कारण योग्य र इमानदार अधिकृत सरुवा/बढुवामा पछि पर्ने गरेको र नेतृत्व तहले यसलाई गम्भीररुपमा नलिएको’ आरोप लगाएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण कँडेललाई कारबाही नहुने भएको छ ।
गत असार ११ र १२ गते भएको वरिष्ठ अधिकृत सम्मेलनमा उनले ‘योग्य र इमानदार अधिकृतको सशस्त्र प्रहरीमा कुनै भविष्य नरहेको र जाली कुरा गर्नेहरूको बोलवाला रहेको’ बताएका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षक (आईजीपी) को सहभागिता रहेको सो कार्यक्रममा एसएसपी कँडेलले विषयवस्तुभन्दा बाहिर गएर बोलेको भन्दै उनलाई कारबाही गर्नुपर्ने मत बलियो थियो । सम्मेलनको मुख्य विषय सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायत भएपनि अनावश्यक विषयवस्तु उठान गरेको भन्दै उनलाई कारबाही गर्न सशस्त्रको नेतृत्वमाथि पनि दबाब बढाइएको थियो ।
सशस्त्र मुख्यालयले एसएसपी कँडेललाई विषयवस्तुभन्दा बाहिर गएर किन अनावश्यक कुरा गरेको र त्यस विषयमा प्रमाण पेस गर्न उनलाई पहिलो पत्र थमाएको थियो । तर सो पत्रको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई नसियत दिन लागिएको थियो । तर एसएसपी कँडेलले दोस्रो पत्र बुझ्नै मानेनन् र बिदा बसे ।
लामो समय बिदा बसेका कँडेल आइतबार भने आफू कार्यरत प्रशासन विभाग हाजिर भएका छन् ।
स्रोतका अनुसार, बिदा बसेर आफूमाथि कुनै कारबाही नहुने तारतम्य मिलाइसकेपछि उनी आज हाजिर भएका हुन् ।
स्रोतका अनुसार, एसएसपी कँडेललाई कुनै पनि प्रकारको कारबाही नगर्न माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दबाब दिएका थिए । दाहालको दबाबकै कारण महानिरीक्षक अर्याल कारबाही गर्नबाट पछि हटेका हुन् । कँडेल माओवादी अध्यक्ष प्रचण्ड निकट रहेको चर्चा सशस्त्र प्रहरीमा लामै समयदेखि चल्दै आएको छ । उनीमाथि कुनै कारबाही भएको भए बढुवामै असर पर्थ्यो।
एसएसपी कँडेल नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका व्यक्ति हुन् । सशस्त्र प्रहरीमा उनको वरीयता जहिले पनि सशस्त्र प्रहरी निरीक्षकको सिसं १ इन्स्पेक्टर बेसिकका अधिकृतहरूको भन्दा मुनी र सिसं २ को टोलीभन्दा माथि रहँदै आएको थियो । सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृतहरू पहिलो पटक एसएसपीमा बढुवा हुँदा पनि उनलाई उनीहरूभन्दा माथि नै राखेर बढुवा गरिएको थियो । तर पछिल्लो पटक डीआईजीको बढुवा गर्दा वरीयतामा उनी भन्दा मुनी रहेका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट परे । उनीमात्रै होइनन् वरीयतामा उनीमाथि माथि रहेका सिसं १ टोलीकै मनिष थापा पनि छुटेका छन् ।
सशस्त्र मुख्यालयले असार २६ गते फेरि डीआईजी बढुवाका लागि आवेदन दिन माग गर्दै सूचना पनि निकालिसकेको छ । डीआईजी पद भने एउटा मात्र रिक्त छ ।
यो पनि : आईजीपीकै सामुन्ने सशस्त्रका एसएसपीले लगाए सरुवा बढुवामा आर्थिक चलखेलको आरोप, सोधियो स्पष्टीकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया