झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले अनावश्यक हल्ला फैलाएको आरोप लगाएका छन् ।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘विरोधी र अराजक तत्त्वहरूले अरू कुरा नपाएर स्पेनबाट मान्छे छाडेर आएको झुटो प्रचार गरिरहेका छन्, जसको जवाफ दिन आवश्यक छैन ।’
विश्व बैंकको सहयोगमा ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किलोमिटर लम्बाइको मदनडाँगी–ताराबारी–डिपु सडक नेपालभरका १७ नमुना सडक आयोजना मध्ये एक मानिन्छ । उक्त सडक समयमै सम्पन्न भएको गौरवशाली परियोजना रहेको जनाइएको छ ।
ओलीले देशभर विकास निर्माणका अभियानमा रहेको सरकार मेचीदेखि महाकालीसम्मको काम सक्ने लक्ष्य राखेको बताए । साथै, दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गर्ने योजना रहेको घोषणा गरे ।
उनले यस वर्ष स्वयंसेवी भावनाले सञ्चालन गरिएको निःशुल्क अनलाइन कक्षाले एसईई परीक्षामा १३ प्रतिशत सुधार ल्याएको पनि बताए ।
उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, उद्वव थापा लगायतका प्रमुख व्यक्तिहरू सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया