राप्रपा विवाद नयाँ मोडमा, नवराज सुवेदी र धवलशमशेर राणालगायतका नेता कार्यकर्ता निर्वाचन आयोगमा 

लोकपथ
4k
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित बनेका ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । 

उनले राप्रपाले आफूलाई विधानविपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने छन् । निर्वाचनमा उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ता पनि गएका छन् । 

शनिबार बसेको राप्रपा इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्दै यसविरुद्ध निर्वाचन आयोगमा जाने निर्णय भएबमोजिम नेताहरू आज निर्वाचन आयोग गएका हुन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई मात्रै नभई प्रवक्ता सगुनसुन्दर लावतीलाई पनि हटाएका थिए । असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।

सुवेदीले चैत ४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेका थिए । उक्त समितिको संयोजक सुवेदी नै बसे । उनले आफू संयोजक घोषणा गर्दा राप्रपाको साधारण सदस्य पनि नरहेको घोषणा गरेका थिए । 

तर अध्यक्ष लिङ्देनको यो निर्णय विधानसम्मत नभएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ । महामन्त्री धवल शमशेर राणासहितले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भएको दाबी गरेका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनले भने पार्टी अध्यक्षले उपाध्यक्षलगायत पदहरू विधानअनुसार मनोनीत गर्न सक्ने बताएका छन् । ‘हिजो अस्ति गुट बनाएर, थर्काएर, अध्यक्षलाई घेराबन्दी गरेर हिँड्ने, मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिने हो अहिले अल्झाउने होइन,’ लिङ्देनले शनिबार आयोजित एक कार्यक्रममा भने, ‘महाधिवेशनले मलाई म्यान्डेट दिएको छ, अहिले काममा सघाउने हो । अध्यक्षले मनोनीत गर्ने भनेर विधानमै भएका मानिसहरू चाहे उपाध्यक्ष हुन्, महामन्त्री हुन्, अध्यक्षको सहयोगको लागि हो। अध्यक्षलाई अल्झाउन, बदनाम गर्न, नभएको कुरा सञ्चार माध्यममा लेख्न र लेखाउन बनाइएको होइन ।’

अध्यक्ष लिङ्देनले पार्टीभित्रका असन्तुष्टहरूलाई लक्ष्य गर्दै आफूले गल्ती गरेको भए महाधिवेशनमा हराउन चुनौती पनि दिए । ‘मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिने हो अहिले अल्झाउने होइन,’ उनले भने, ‘महाधिवेशनले मलाई म्यान्डेट दिएको छ, अहिले काममा सघाउने हो । अध्यक्षले मनोनीत गर्ने भनेर विधानमै भएका मानिसहरू चाहे उपाध्यक्ष हुन्, महामन्त्री हुन्, अध्यक्षको सहयोगको लागि हो । अध्यक्षलाई अल्झाउन, बदनाम गर्न, नभएको कुरा सञ्चार माध्यममा लेख्न र लेखाउन बनाइएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?