अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली

लोकपथ
875
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकामा सञ्चालित ‘भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’को औपचारिक शुभारम्भ गरेका छन् ।

शनिबार आयोजित विशेष समारोहमा उनले अस्पताल भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै परोपकारी कार्यको प्रेरणा लिनु पर्नेमा जोड दिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालको जग्गा दान गर्ने न्यौपाने परिवारको योगदानको खुलेर प्रशंसा गरे । भवनको रिबन काट्ने जिम्मा पनि उनले जग्गादाता भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद र कुलप्रसाद न्यौपानेलाई दिएका थिए ।

अस्पतालको सेवा सन् २०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सुरु भएको थियो। सुरुमा सामान्य सेवा दिइरहेको अस्पताल अहिले १० शैय्यामा विस्तार भएको छ । हाल अस्पतालमा बीमा सुविधा, ल्याब परीक्षण, भिडियो एक्सरे, इको लगायत स्वास्थ्य सेवाहरू उपलब्ध छन् ।

पहिले नामकरणको प्रयास गर्दा पनि सफल नभएकोमा अन्ततः गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले ‘भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’ नाम स्वीकृत गरेको थियो। नाम स्वीकृति प्राप्त भएपछि शनिबार औपचारिक उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘मानिसले मर्दा केही लैजान्न, तर आफ्नो कामले सधैं स्मरण गराउँछ। परोपकारी कार्य सबैले गर्नुपर्छ, अरुले पनि सिक्नुपर्छ। १०२ वर्षअघि जन्मनुभएकी भागिरथा न्यौपानेको नाममा आज हामी अस्पतालको नामाकरण गर्दैछौं, यो प्रेरणादायी छ ।’

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि, स्थानीयबासी, स्वास्थ्यकर्मी र न्यौपाने परिवारका सदस्यहरू सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?