‘जबज’लाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ : विद्यादेवी भण्डारी

लोकपथ
658
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै उनले ‘जबज’ विचारधारालाई विश्वव्यापी रूपमा फैलाउन विशेष पहल आवश्यक रहेको बताइन् ।

‘समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, ‘भण्डारीले भनिन्, ‘जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास भइरहेको छ । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार बुझ्न र व्यावहारिक रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउँछ ।’

पूर्वराष्ट्रपति भण्डारीले ‘जबज’लाई सामाजिक तथा आर्थिक रूपान्तरणको सिद्धान्तको रूपमा परिभाषित गर्दै यो विचार नेपाली समाजको विशिष्टतालाई आत्मसात गर्दै समाजवादमा पुग्ने लोकतान्त्रिक मार्ग भएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘जबजले मार्क्सवाद र लेनिनवादको आधारमा नेपालको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक यथार्थको गहिरो विश्लेषण गरी लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेट्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ।’

कार्यक्रममा उनले जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै ‘जबज’को सैद्धान्तिक गहिराइ र व्यवहारिक प्रभावबारे प्रकाश पारिन् । कम्युनिष्ट आन्दोलनको वर्तमान दिशा र भविष्यबारे थप बहस र संवाद आवश्यक रहेको उल्लेख गर्दै भण्डारीले विचारको स्पष्टता र सैद्धान्तिक दृढता नै आन्दोलनको मार्गदर्शक बन्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?