काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्र राज्य बलियो बन्ने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रणालीको सुदृढता पनि दलहरूको सबलतामा निर्भर हुने स्पष्ट पारे ।
उनका अनुसार राजनीतिक दलहरू आफ्ना विचार र कार्यशैलीमा सकारात्मकता ल्याउन असफल हुँदा जनस्तरमा अनावश्यक शंका र प्रश्नहरू उठ्ने गरेका छन् । ‘राजनीतिक दलहरूले आफ्ना विषयवस्तु सकारात्मक तरिकाले राख्न नसक्नुले आलोचना खेप्नुपरेको छ,’उनले भने, ‘तर जतिसुकै राम्रो काम गरे पनि अव्यवस्था चाहनेहरूले सधैं विरोध गर्ने गर्छन् । त्यसलाई गलत सावित गर्नु राजनीतिक दलको दायित्व हो ।’
बस्नेतले सामाजिक जीवनमा उत्पन्न हुने नयाँ आवश्यकता, सम्भावना, चुनौती र अवसरहरूको यथोचित सम्बोधनका लागि राजनीतिक दलहरूले आफूलाई समयअनुसार परिष्कृत र परिमार्जित गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक दलहरू सुधारोन्मुख र उत्तरदायी नबने जनताबीच विश्वास संकट उत्पन्न हुने चेतावनीसमेत दिए। ‘राजनीतिक दलहरूले समय अनुसार आफूलाई सुधार गर्नैपर्छ,’ बस्नेतले दोहोर्याए ।
कार्यक्रममा उनले राजनीतिक स्थायित्व, प्रणाली सुदृढीकरण र जनविश्वास निर्माणका लागि दलहरूबीच सहयोग र आत्मसमिक्षाको आवश्यकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया