‘सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्नेकुरा जनताले हेरिरहेका छन्’

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा राजनीतिक दलहरूले कस्तो काम गरे भन्नेबारे नागरिकहरूले सूक्ष्म रूपमा मूल्यांकन गरिरहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परियारले पछिल्लो पुस्ता सचेत बनिरहेको र उनीहरूले दलहरूको डेलिभरी हेरेर मूल्यांकन गरिरहेको उल्लेख गरे ।

उनले २०४६ सालअघि र पछिको अवस्थाको तुलना गर्दै नेपालमा विशेष गरी कांग्रेस, एमाले र माओवादी केन्द्रले लामो समय सरकार चलाएको र अहिले ती दलहरूको जनतामाझको छवि त्यसअनुसार बनेको बताए ।

‘हामी पटक–पटक सरकारमा पुगेका छौँ, ‘उनले भने, ‘हामीले सरकारमा रहँदा कस्तो किसिमको काम गर्न सक्यौँ, ‘जनताले हेरिरहेका छन् ।’

उनले शक्ति राष्ट्रहरूसँगको तुलनात्मक दृष्टिले पनि नेपालको अवस्था बुझ्न जरुरी रहेको बताए । ‘शक्ति राष्ट्रमा अहिले कुन दल कस्तो अवस्थामा छ भन्ने हेर्नुपर्छ । नेपालमा पनि बहुदल स्थापनाको लामो समय भइसकेको छ, ‘ उनले भने ।

सहमहामन्त्री परियारले अहिले नेपालको दक्ष जनशक्ति शक्ति राष्ट्रहरूमा रोजगारीको लागि जानु बाध्यता बनेको उल्लेख गर्दै सो अवस्थाले दलहरूको नीतिगत तथा कार्यगत कमजोरी उजागर भएको बताए ।

‘शक्ति राष्ट्रमा गइरहेका नेपालीहरू हेरेर जनताले मूल्यांकन गरिरहेका छन्, कुन सरकारले के गर्‍यो, कसरी रोक्न खोज्यो ?’उनले प्रश्न गर्दै भने, ‘यो आम मूल्यांकन अब पुस्ता परिवर्तनसँगै गहिरिँदै गएको छ ।’

उनको भनाइमा जनताको मूल्यांकनले अबको राजनीतिमा गहिरो असर पार्ने संकेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?