रविमाथि राज्यले ज्यादती गरेको छ, प्रक्रिया निष्पक्ष हुनुपर्छ : झलनाथ खनाल

लोकपथ
847
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको आरोप लगाएका छन् ।

चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेमाथि सहकारी प्रकरणका नाममा राज्यले आवश्यकभन्दा बढी दबाब र व्यवहार गरिरहेको बताए ।

‘म रविले गल्ती र कमजोरी गरेकै छैन भनेर पुष्टि गर्न सक्दिन,’ खनालले भने, ‘तर गल्ती भएको भनिँदैमा जुन प्रकारले राज्यले ज्यादती गरिरहेको छ, त्यो आफूले पनि महसुस गरेको छु ।’

उनको भनाइमा लामिछानेमाथि लागेको आरोपबारे छानबिन त हुनुपर्छ, तर त्यसको प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्छ ।

सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउने आदेश दिएपछि लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् । लामिछाने र उनका समर्थकहरूले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएका छन् ।

खनालको टिप्पणीले अब यो मुद्दा थप राजनीतिक रंग लिनसक्ने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?