पार्टी अध्यक्षमाथिको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफ : ‘प्रश्न त हामीले पनि गर्नुपर्ने हो’

लोकपथ
322
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम जोडिएर उठेका प्रश्नलाई आम जनताको चासोको विषय भएको बताएका छन् ।

शनिबार चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खनालले आफूले पनि पार्टीभित्रै यो विषयमा प्रश्न उठाएको जानकारी दिए । ‘यो प्रश्न तपाईंहरूले गर्नुभयो, जनताले गर्छन्, हामीले पनि गर्नुपर्ने हुन सक्छ,‘ खनालले भने, ‘मैले सचिवालय बैठकमा यो विषयलाई समेटिएको दस्तावेज पेश गरिसकेको छु ।

उनका अनुसार उक्त लिखित दस्तावेज पार्टीको सचिवालय बैठकमा राखिएको छ र त्यसबारे विस्तृत छलफलपछि मात्रै सार्वजनिक गरिनेछ ।

खनालले अध्यक्ष माधव नेपाल भ्रष्टाचार प्रकरणमा ३५ लाख धरौटीमा रिहा हुनुले पार्टीको विश्वसनीयता र जनताबीचको सन्देहबारे उठेका प्रश्नलाई सम्बोधन गर्नु आवश्यक रहेको संकेत गरे ।

त्यसैगरी, उनले नेपालको समग्र वाम आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउन आवश्यक रहेको धारणा पनि व्यक्त गरे । उनले विचार, कार्यदिशा, नीति, कार्यक्रम र रणनीति पुनर्संयोजन गरी कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

खनालले वामपन्थी शक्तिहरूबीच खँदिलो एकता अपरिहार्य भएको उल्लेख गर्दै देशको वर्तमान परिस्थिति सुधार गर्न विचारमा स्पष्टता र नेतृत्वमा शुद्धता आवश्यक रहेको धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?