स्ववियु सभापतिहरूको माग : ‘त्रिवि सभामा प्रतिनिधि मनोनयन होइन, निर्वाचनबाट चयन गरियोस्’

लोकपथ
98
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व मनोनयनबाट नभई निर्वाचनमार्फत गर्नुपर्ने माग गरेका छन् ।

देशभरका १६ वटा क्याम्पसका सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनले प्रतिनिधि छनोटमा अपारदर्शिता देखाएको भन्दै कडा आपत्ति जनाएका हुन् । उनीहरूले त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्रीलाई सिफारिस गर्न लागेको मनोनयन प्रक्रियालाई ‘स्वेच्छाचारी र अलोकतान्त्रिक,‘ भनेका छन् ।

विज्ञप्तिमा त्रिचन्द्र क्याम्पसका गोविन्द कोइराला, भक्तपुर क्याम्पसका पुकार पराजुली, पद्मकन्या क्याम्पसकी भूपी ऐर, जनप्रशासन क्याम्पसका अनिकेत तिवारी लगायतका प्रमुख क्याम्पसहरूका सभापतिहरूको सहभागिता रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरका सबै क्याम्पसमा निर्वाचित सभापतिहरूको समान अधिकार हुन्छ । त्यसैले त्रिवि सभामा प्रतिनिधित्व पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट हुनुपर्छ ।’ मनोनयनको अभ्यासलाई सभापतिहरूले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड हुने अलोकतान्त्रिक अभ्यासको संज्ञा दिएका छन् ।

विज्ञप्तिमार्फत विश्वविद्यालय प्रशासन, कार्यकारी परिषद् र प्रधानमन्त्रीलाई विद्यार्थी आवाज बेवास्ता नगर्न तथा लोकतान्त्रिक अभ्यासको पालना गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?