क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै

लोकपथ
2.4k
Shares

स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरस्थित थाप्लेमा ‘क्रिकेट रङ्गशाला’ निर्माण सुरु गरिएको छ । लामिछानेकै जन्मस्थलमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्दै गाउँपालिकाले क्रिकेट र पर्यटनलाई सँगसँगै प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा रङ्गशाला निर्माण कार्य अघि बढाइएको हो। सार्वजनिक गौचरनको रूपमा रहेको समथर डाँडालाई मैदानका रूपमा विकास गरिँदैछ ।

‘अहिले मैदान सम्याउने काम भइरहेको छ, वर्षाका कारण केही समयका लागि काम रोकिएको छ,‘अध्यक्ष तिवारीले बताए, ‘वर्षा सकिएलगत्तै तीव्र गतिमा निर्माण अघि बढाउनेछौँ ।’

समुद्री सतहदेखि १,९०७ मिटरको उचाइमा रहेको निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ। मैदान चारैतिर ४५ मिटर वृत्ताकार फैलावटमा बनाइँदैछ, जसले राष्ट्रियस्तरको खेल मैदानको मापदण्ड पूरा गर्ने अपेक्षा गरिएको छ।

पीच निर्माण लगायतका प्राविधिक पक्षमा क्रिकेटसँग सम्बन्धित जिल्ला, प्रदेश तथा केन्द्रका विज्ञहरूको परामर्श लिइँदैछ। ‘सन्दीप लामिछानेजस्तो प्रतिभा जन्मिएको ठाउँ भएकाले यो रङ्गशालाले भविष्यमा धेरै नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउने विश्वास लिएका छौँ,’अध्यक्ष तिवारीले बताए ।

रङ्गशालाको करिब आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे ‘सिरुबारी’ अवस्थित छ । क्रिकेट र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्न सम्भावना देखिएकाले क्षेत्रीय विकासमा यसले टेवा दिने गाउँपालिकाको विश्वास छ ।

रङ्गशाला सम्पन्न भएपछि राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने र युवा प्रतिभाहरूको पहिचान तथा अभ्यासका लागि छुट्टै संरचना बनाइने तयारीसमेत गरिएको छ । स्थानीयस्तरमै अवसर सिर्जना गरी खेलकुद विकाससँगै समग्र क्षेत्रको पहिचान निर्माण गर्ने उद्देश्यसहित यो अभियान अघि बढाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?