असीमित अडान छाडेपछि ‘एस’मा मिलान हुन पुगेका वामदेव

लोकपथ
2.9k
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पुनः नेकपा एकीकृत समाजावादीमा जाने तयारी गरेका छन् ।

यसअघि पनि एकीकृत समाजवादीमा जाने निश्चित भएको थियो । तर अन्तिम अवस्थामा वार्ता विफल हुँदा गौतमले एमालेमा जाने लबिइङ गरे । तर त्यहाँ पनि कुरा नमिलेपछि दोधारमा परेका वामदेव अन्ततः पार्टीको तेस्रो वरियतासहित एसमा जान तयार भएका हुन् ।

शुक्रबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी एकीकरणको अन्तिम सहमति भएको हो ।

‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष क. माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतमसहितका नेताहरुबिच छलफल हुँदा राजनीतिक दर्शन, शिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको एतिहासिक आवश्यक्तालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा एकतावद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा सभागृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो,’ दुई पक्षबिच पार्टी एकताको सहमतिपत्रमा भनिएको छ ।

०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि वामदेव लामो समय पुनः नेकपा ब्यूत्याउने चेष्टामा लागे । उनले नेकपा एकता राष्ट्रिय अभियान चलाए पनि त्यो सम्भव भएन । अझ आफैँले संगठन निर्माण गरेको नेकपा एमाले नै फुट्न पुग्यो । त्यही एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुनः वामदेव मिल्न लागेका हुन् ।

यसअघि ०८१ पुसको पहिलो साता सहमति गरेर पार्टी एकता गर्ने तयारी थियो । तर अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरियतासहित संगठन विभागको प्रमुख आफू बन्न पाउनुपर्ने लगायतका असीमित मागहरु वामदेवका रहे ।

यसबिचमा वामदेवले सार्वजनिक रुपमै एमालेमा आफूलाई बोलाउन भनेका थिए । तर त्यताबाट कुनै ‘ग्रीन सिग्नल’ नपाएपछि पुनः एकीकृत समाजवादीमा जान लागेका हुन् । तर अहिले पहिलेजस्तो वामदेवका असीमित मागहरु भने छैनन् । उनले आफूलाई के जिम्मेवारी दिने भन्ने निर्णय समेत एकीकृत समाजवादीकै नेताहरुले गर्नसक्ने अधिकार छाडिदिएका छन् ।

तत्कालीन नेकपा विभाजन हुँदा एमाले हुँदा र नेकपा हुँदा समेत आफूसँग भएका नेताहरु व्यवस्थापन गर्ने अर्को चुनौती समेत वामदेवसँग छ । तर उनले त्यो सबै जिम्मेवारी समेत एकीकृत समाजवादीकै नेताहरुको जिम्मामा छाडिदिएका छन् । यसअघि पनि अन्तिम अवस्थामा पुगेपछि एकता भाँडिएको थियो । राजनीतिमा ‘अस्थिर चरित्रका राजनीतिज्ञ’ भनेर कहलिएका वामदेवले कतै कुनै अर्को माग राखेर त्यो बाटो पनि बन्द गर्ने त होइनन्, भन्ने आशंका पनि उत्तिकै छ । तर अहिले पार्टी एकताका लागि हस्ताक्षर नै भइसकेपछि भने फेरि त्यही प्रकरण दोहोरिएला भनेर आँकलन गर्न पनि हतार हुन्छ ।

पुनः राजनीतिमा अर्को नयाँ मोड नआए आफैँले निर्माण गरेको पार्टीबाट चोइटिएर बनेको सानो दल एकीकृत समाजवादीको नेताको हैसियतमा बित्नेछ अब वामदेवका दिनहरु ।

यो पनि…

वामदेवका उकाली ओराली : एकीकृत समाजवादी ओत लाग्ने चौतारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?