काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा सांसद पशुपति शम्शेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ८४औँ जन्मदिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जबराले आफू दरबारिया सुख-सयलमा हुर्किएको भए पनि कठिन राजनीतिक परिस्थितिमा मुलुकको सेवा गर्ने अवसर पाएको उल्लेख गरे । ‘राजनीति मेरो प्राणमा नै छ । वंश परम्परा पनि त्यही हो, ‘ उनले भने, ‘तर मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ, नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेँ ।’
उनले आफ्नो जीवनको सबैभन्दा बढी ऊर्जाशील समय राजनीतिमा बितेको उल्लेख गरे । जबराले कठिन समयमा पनि मुलुकको लागि महत्वपूर्ण योगदान दिने मौका पाएको स्मरण गर्दै शिक्षा, पर्यटन लगायत विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव साझा गरे ।
सन् १९७८ (वि.सं. २०३५ साल) मा शिक्षामन्त्री हुँदा काठमाडौं उपत्यकाका पुराना मन्दिर तथा पुरातात्विक सम्पदाहरू युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मुख्य भूमिका खेलेको जानकारी उनले दिए ।
राजनीतिक योगदान र लामो अनुभवको झल्को दिँदै सांसद जबराले आफ्नो सेवाभाव अझै सकिएको छैन भन्ने संकेत पनि गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया