काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति गहिरो अध्ययन, विश्लेषण र पूर्वतयारीका आधारमा कार्यान्वयनमुखी ढंगले ल्याइएको बताएको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक रामशरण खरेलले नीति निर्माण प्रक्रियामा गोपनीयता पालन गर्दै समयमै नीति ल्याइएको जानकारी दिए ।
‘राष्ट्र बैंक ऐनअनुसार मौद्रिक नीति यही महीनाभित्र ल्याउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘यसपालि समयमै नीति ल्याइएको छ । अब १/२ गतेभित्र सर्कुलर गरेर कार्यान्वयनमा लैजानेछौं । आर्थिक वर्ष सुरु भएसँगै कार्यान्वयनको गति पनि तीव्र हुनेछ ।’
उनका अनुसार विगतमा बजेट ढिलो आउने र मौद्रिक नीति पनि पछि आउने परिपाटी रहेकोमा यसपटक अग्रिम तयारीका कारण नीति समयमै ल्याउन सकिएको हो ।
राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि आगामी वर्षहरूमा आर्थिक वर्ष सुरु हुनुअघि नै मौद्रिक नीति ल्याउने अभ्यासलाई निरन्तरता दिने बताए ।
उनले भने, ‘मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाका लागि दिशानिर्देशक हो । अब तिनीहरूले आफ्ना कार्यक्रम, योजना तथा बजेटहरू मौद्रिक नीतिको आधारमा बनाउने छन् ।’
पौडेलले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन र मौद्रिक नीति सुझाव समितिका सुझावहरूलाई समेटेर नीति निर्माण गरिएको जानकारी पनि दिए ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यस वर्षको नीति लचिलो, सन्तुलित र कार्यान्वयनमैत्री बन्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया