सडक दुर्घटना : दैनिक ७ जनाले गुमाइरहेका छन् अकालकै ज्यान

मोटरसाइकल उच्च जोखिममा, माइक्रो बस र भ्यान सुरक्षित

लोकपथ
343
Shares

काठमाडौं । भौगोलिक विकटता र विविधीकरण, चालकका लापरबाही र सडकका कारण नेपालमा मोटरसाइकल दुर्घटना उच्च रहेको पाइएको छ । कुल दुर्घटनामध्ये ५८ प्रतिशत दुर्घटना मोटरसाइकलमा भएको पाइएको छ । यस अर्थमा मोटरसाइकलको यात्रा जोखिमपूर्ण देखिँदा माइक्रो बस र माइक्रो भ्यान भने अन्य सवारीभन्दा सुरक्षित देखिएको छ ।

नेपाल प्रहरीमा रहेको देशभरको दुर्घटनाको तथ्यांक केलाउँदा मोटरसाइकल सबैभन्दा बढी जोखिमपूर्ण देखिएको छ भने माइक्रो बस वा भ्यानहरू भने अन्यको तुलनामा सुरक्षित रहेको पाइएको छ ।

नेपाल प्रहरीको तथ्यांकमा यस आर्थिक वर्षको सुरुवातदेखि जेठ मसान्त अर्थात् ११ महिनाको तथ्यांक हेर्दा दैनिक २ हजार ४ सय वटा सवारी दुर्घटनाका घटना भएको पाइएको छ । ती सवारी दुर्घटनामा दैनिक ३ हजार ५ सय सवारीसाधनहरूमा क्षति पुग्ने गरेको वा दुर्घटना हुने गरेको पाइएको छ ।

यस आर्थिक वर्षको ११ महिनाको अवधिमा दुर्घटनामा परी २ हजार २ सय ८९ जनाको मृत्यु भएको छ, जुन औसतमा दैनिक ७ जनाले सडक वा सवारी दुर्घटनामा परी ज्यान गुमाएको पाइएको छ ।

केन्द्रीय प्रहरीको तथ्यांक अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्म कुल २५ हजार ७ सय ७१ स्थानमा सवारी दुर्घटना हुँदा ३८ हजार ७ सय ७४ वटा सवारीसाधनमा क्षति पुगेको पाइएको छ । । जेठ मसान्तसम्मको दुर्घटनामा सबैभन्दा बढी २२ हजार ६ सय ४० वटा दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छ । देशभरका दुर्घटनामा गरी २ हजार २ सय ८९ जनाले ज्यान गुमाउँदा ६ हजार ३ सय ८१ जना गम्भीर घाइते तथा ३३ हजार ७ सय ५६ जना सामान्य घाइते भएको पाइएको छ ।

सबैभन्दा बढी दुर्घटना बागमती प्रदेशमा
नेपाल प्रहरीमा रहेको तथ्यांक हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी दुर्घटना भएको देखिन्छ । बागमती प्रदेशको काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४ सय १२ वटा सवारी दुर्घटनाका घटना भएका छन् । उपत्यका बाहिरका अन्य जिल्लाहरूमा २ हजार २ सय ३८ वटा सवारी दुर्घटना हुँदा बागमती प्रदेशमा कुल ८ हजार ६ सय ५० वटा सवारी दुर्घटना भएको छ । बागमती प्रदेशमा भएका दुर्घटनामा ४ सय ३० जनाले ११ महिनाकै अवधिमा ज्यान गुमाएका छन् ।

बागमती प्रदेशपछि धेरै दुर्घटना हुने प्रदेशमा मधेस प्रदेश रहेको छ । मधेस प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ६ हजार ७ सय १० वटा सवारी दुर्घटनाका घटना हुँदा ५ सय २ जनाले ज्यान गुमाएका छन् ।

मोटरसाइकल दुर्घटना बढी, यात्रुवाहकमा माइक्रो बस र भ्यान सुरक्षित
केन्द्रीय प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल सवारी दुर्घटनाको ५८ प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छ । गत जेठ मसान्तसम्मको तथ्यांक हेर्दा ३८ हजार ७ सय ७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा २२ हजार ६ सय ४० वटा सवारीसाधन मोटरसाइकल वा स्कुटर रहेका छन्, जुन कुल दुर्घटनामा परेका सवारीसाधनको ५८ दशमलव ३८ प्रतिशत हो ।

मोटरसाइकलपछि बढी दुर्घटनामा पर्ने सवारीसाधनमा कार र जिप रहेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ हजार ७ सय ७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा ५ हजार ९ सय ७ थान सवारीसाधन कार वा जिप रहेका छन्, जुन कुल सवारीसाधन दुर्घटनाको १५ दशमलव २३ प्रतिशत रहेको छ ।

ट्याम्पोको दुर्घटना पनि बढी
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक हेर्दा दुर्घटनामा पर्ने सवारीसाधनको तेस्रो सूचीमा सार्वजनिक सवारीसाधनको रूपमा रहेको ट्याम्पो रहेको छ । चालु आवको ११ महिनामा भएका कुल दुर्घटनामध्ये २ हजार २ सय २६ वटा सवारीसाधन ट्याम्पो रहेका छन्, जुन कुल दुर्घटनाको ५ दशमलव ७४ प्रतिशत हो ।

शारीरिक शक्तिले चल्ने सवारी दुर्घटना चौथो नम्बरमा
सवारीसाधन दुर्घटनाको तथ्यांक केलाउँदा गत जेठ मसान्त अर्थात् ११ महिनाको अवधिमा भएका कुल दुर्घटनामध्ये शारीरिक शक्तिले चल्ने साइकल, रिक्सा, ठेला जस्ता सवारीसाधन दुर्घटना चौथो नम्बरमा रहेको पाइएको छ । कुल दुर्घटनामध्ये २ हजार १ सय ३० वटा सवारीसाधन शारीरिक शक्तिबाट चल्ने अर्थात् साइकल, रिक्सा, ठेला आदि रहेका छन्, जुन कुल दुर्घटनाको ५ दशमलव ४९ प्रतिशत हो ।

बस दुर्घटना पाँचौँ नम्बरमा
यस आर्थिक वर्षको ११ महिनाको अवधिमा भएका दुर्घटनामध्ये सार्वजनिक सवारीको रूपमा रहेको बस दुर्घटना पाँचौँ नम्बरमा रहेको छ । जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा १ हजार ७ सय ८६ वटा दुर्घटना बससँग सम्बन्धित छ, जुन कुल दुर्घटनाको ४ दशमलव ६० प्रतिशत हो ।

छैटौँ ट्रक र ट्यांकर
१० वटा श्रेणीमा विभाजन गरिएको सवारीसाधनको किसिम अनुसार दुर्घटनाको छैटौँ नम्बरमा ट्रक तथा ट्यांकर रहेको छ । यस आर्थिक वर्षको ११ महिना अर्थात् गत जेठ मसान्तसम्मको अवधिमा ट्रक र ट्यांकर गरी १ हजार ५ सय ५९ वटा दुर्घटना भएका छन्, जुन कुल दुर्घटनाको ४ दशमलव शून्य दुई प्रतिशत हो ।

ट्याक्टर सातौँ नम्बरमा
यस आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक हेर्दा १० वटा सवारीको किसिममा विभाजन गरिएको दुर्घटनामा ट्याक्टर सातौँ नम्बरमा बढी दुर्घटनामा पर्ने सवारीसाधनका रूपमा रहेको पाइएको छ । यस अवधिमा १ हजार ४४ वटा ट्याक्टर दुर्घटनामा परेका छन्, जुन कुल ३८ हजार ७ सय ७४ सवारीसाधन दुर्घटनाको २ दशमलव ६९ प्रतिशत हो ।

आठौँ नम्बरमा माइक्रो
यस आर्थिक वर्षको ११ महिनाको तथ्यांक केलाउँदा नेपालभर भएका १० वटा किसिमका सवारीसाधन दुर्घटनामध्ये आठौँ नम्बरमा माइक्रो बस वा भ्यान परेको छ । कुल ३८ हजार ७ सय ७४ वटा सवारीसाधन दुर्घटना हुँदा यात्रु बोक्ने माइक्रोको सङ्ख्या ५ सय ९८ थान रहेको छ, जुन कुल सवारीसाधन दुर्घटनाको केवल १ दशमलव ५४ प्रतिशत मात्रै हो ।
यात्रु बोक्ने सवारीसाधन अर्थात् प्यासेन्जर भेइकल दुर्घटनाको तथ्यांक केलाउँदा कार, जिप, ट्याम्पो र बसभन्दा माइक्रो बस वा भ्यान सुरक्षित रहेको पाइएको छ ।

नवौँ नम्बरमा ट्रिपर
गत जेठसम्मको ११ महिनाको दुर्घटनाको तथ्यांक हेर्दा नवौँ नम्बरमा दुर्घटनामा पर्ने सवारीसाधनमा ट्रिपर रहेको पाइएको छ । मुख्यतः बालुवा र गिट्टी बोक्ने ट्रिपर दुर्घटना पहिले बढी हुने गरेकामा अहिले त्यसमा कमी आएको पाइएको छ । यस आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल ५ सय ६२ वटा ट्रिपर दुर्घटना भएका छन्, जुन कुल दुर्घटनाको १ दशमलव ४४ प्रतिशत हो ।

दशौँ नम्बरमा डोजर, लोडर र एक्स्काभेटर
देशभर भएका सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा सबैभन्दा कम दुर्घटनामा पर्ने सवारीसाधनमा डोजर, लोडर र एक्स्काभेटर रहेको पाइएको छ । यस आर्थिक वर्षमा ७४ वटा यस्ता सवारीसाधन दुर्घटना भएको पाइएको छ । यी सवारीसाधनको सङ्ख्या पनि कम नै हुने भएकाले यी सवारीसाधनको दुर्घटनाको सङ्ख्या पनि कम नै रहेको पाइएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४ सय १० सवारी दुर्घटना
चालु आर्थिक वर्षको आषाढ २० गतेसम्मको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा कुल ६ हजार ४ सय १० वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनाहरूमा २६ जनाले ज्यान गुमाएका छन् भने ६ सय ७६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा मृत्यु हुनेहरूमा १७ जना त पैदल यात्री मात्रै रहेका छन् ।

उपत्यकामा ईभी गाडीको दुर्घटना ३ प्रतिशतभन्दा कम
काठमाडौं उपत्यकामा भएका दुर्घटनाहरूको तथ्यांक केलाउँदा इलेक्ट्रिक भेइकल अर्थात् ईभी गाडीहरूको दुर्घटना केवल २ दशमलव ९० प्रतिशत रहेको छ । उपत्यकामा कुल ६ हजार ४ सय १० वटा सवारीसाधन दुर्घटनामा पर्दा १ सय ८६ वटा ईभी गाडीहरू दुर्घटनामा परेको पाइएको छ । ईभी गाडीहरूमा पनि धेरैजसो ईभी कार दुर्घटनामा परेको छ भने ईभी भ्यान वा माइक्रो दुर्घटनाको सङ्ख्या नगन्या मात्रामा रहेको छ ।

दुर्घटना अन्य सवारीसाधनको दोष जति ईभीलाई !
पछिल्लो समय भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा सबैभन्दा बढी दुर्घटना ट्याम्पोको भएको छ । ट्याम्पोपछि बस दुर्घटना बढी छ भने त्यसपछि मात्रै माइक्रोको दुर्घटना बढी भएको तथ्यांकले देखाएको छ । माइक्रोको दुर्घटना हुँदा पनि अधिकांश दुर्घटना इन्धनबाट चल्ने सवारीसाधनबाट भएको देखिन्छ ।

तर सामाजिक सञ्जालमा भने ईभी अर्थात् इलेक्ट्रिक माइक्रो र भ्यानको कारण दुर्घटना बढेको भन्दै प्रचारबाजी भएको देखिन्छ । सामाजिक सञ्जालमा नियोजितरुपमा ईभी सवारीसाधन दुर्घटनाका फोटो तथा भिडियो मात्रै पोस्ट गर्ने तथा सेयर र स्पन्सर गरेर बुस्टसमेत गर्ने गरेको पाइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू रेशम लामा, परदेशमा काम गर्ने हामी नेपाली, ईभान रोबिन लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ईभी गाडीका सम्बन्धमा नकारात्मक सामाग्री प्रसारण गरिरहेको पाइएको छ । रेशम लामा नाम गरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले त टोयोटाको हाइस दुर्घटना हुँदा पनि ईभी गाडी भन्दै पोस्ट गर्ने गरेका छन् ।

पछिल्लो समय प्यासेन्जर भेइकलका रूपमा इन्धनबाट चल्ने भन्दा विद्युतीय सवारीसाधन, माइक्रो वा भ्यानको माग बढ्न थालेको छ । यस्तो अवस्थामा इन्धनबाट चल्ने सवारीसाधनको व्यापारमा ७० प्रतिशतसम्मको कमी आएपछि इन्धनबाट चल्ने सवारीसाधन, माइक्रो र भ्यानको विक्री वितरण गर्ने कम्पनीहरूले नै स्पन्सर र बुस्ट गरेर ईभी सवारीविरुद्ध प्रचारबाजी गरिरहेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?